९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मेलम्ची आयोजनाको पाइप फुटाउनेमाथि कारवाहीः अर्थमन्त्री खतिवडा



काठमाडौं ।
अर्थमन्त्री डा.युवराज खतिवडाले विकास निर्माणका क्रममा अर्को निकायको काममा अवरोध र क्षति पुर्‍याउनेमाथि कारवाही चलाउनुपर्ने बताएका छन् । गत आर्थिक वर्षमा अन्तरनिकाय संरचना निर्माण प्रकियामा सरकारी निकायबीच समन्वय नुहँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेको थियो । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याएपछि गरिएको सडक विस्तार र ढल खन्‍ने क्रममा नयाँबानेश्वर, कालोपुल, बागेश्‍वरी, बल्खुलगायत क्षेत्रमा करोडौं मूल्यको पाइप फुटेको थियो । सरकारी निकायबीच समन्वय अभावमा ३० किलोमिटर पाइप फुट्दा १६ करोड रुपैयाँको क्षति भएपछि अर्थमन्त्री खतिवडा आक्रोशित भएका हुन् ।

जसले पाइप फुटाएको हो, उसैबाट क्षतिको रकम उठाउनुपर्नेमा मेलम्ची खानेपानी विकास समितिले अर्थमन्त्रालयबाट बजेट मागेर काम अघि बढाएको सन्दर्भमा अर्थमन्त्री खतिवडाले कडा प्रतिक्रिया दिएका हुन् । मेलम्ची विकास समितिले भने जहाँबाट लिए पनि सरकारी रकम नै चाहिने भएकाले सोझै अर्थमन्त्रालयमा माग गरिएको जनाएको छ। तर अर्थमन्त्री डा। खतिवडाले यस विषयमा छानबिन गर्नुपर्ने अडान राखेका हुन् । सोमबार बसेको विकास तथा प्रविधि संसदीय समितिको बैठकमा अर्थमन्त्री डा। खतिवडाले यस्तो बताएका हुन् । ‘हामीले पाइपका लागि पैसा निकास गरेका छौँ, उनले भने, यसरी लापरवाही गर्नेमाथि छानविन हुनु पर्छ ।’ खतिवडाले विगतको तुलनामा अन्तरमन्त्रालय समन्वय बढेको दाबी गरेका छन् ।

उनले कतिपय कामका लागि कानुनको सुधार आवश्‍यक रहेको बताउँदै यसमा सरकार तयार रहेको पनि प्रतिवद्धता जनाए । खतिवडाले कतिपय गर्नुपर्ने काममा सहजताका लागि सार्वजनिक खरिद ऐन संशोधन गरिएको बताउँदै अरु गर्नैपर्ने कामका लागि केही नेपाल ऐन संशोधन गरेर अघि बढाउनु पर्नेमा जोड दिए । खतिवडाले नयाँ काम गर्न स्रोतका विषयमा पहिचान गरेर अघि बढ्नुपर्ने पनि बताएका छन् । सडक र त्यससँग सम्बन्धित अन्य कामलाई एकीकृत रुपमा योजना कार्यन्वयन गर्ने गरी अघि बढाइएको युटिलिटी करिडोरको सन्दर्भमा बोल्दै खतिवडाले स्रोत व्यवस्थापन पनि महत्वपूर्ण रहने बताएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ४ : १८ बजे