९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पञ्च आधारभूत विद्यालयमा अक्षयकोष स्थापना, होराइजन मावि बुटवलद्धारा २ लाख ५० हजार सहयोग



मायादेवी अनलाइन, पिपरा ।
प्रदेश सासद विष्णु पन्थीले शिक्षा र पूर्वाधार विकासलाई संगसंगै लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाले जिल्लाको शैक्षिक स्तर सुदृढ गर्नसके मात्र मानव विकास सूचाङ्कमा उल्लेखनीय सुधार आउने स्पष्ट पार्नुभयो । कपिलवस्तुको वाणगंगा २ वैदलपुर स्थित श्री पञ्च आधारभूत विद्यालयमा अक्षयकोष हस्तान्तरण कार्यक्रममा बोल्दै सासद पन्थीले कपिलवस्तुको शैक्षिक विकासमा आफु निरन्तर लागिरहेको समेत बताउनुभएको छ । उहाले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा जोड दिएर विद्यार्थी र अभिभावकको सहभागीता बढाउनुपर्ने अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
शैक्षिक क्षेत्रमा अग्रणी दुवै विद्यालयबीच एक आपसमा सहयोग आदान प्रदान हुनु महत्वपूर्ण कदम हो, सासद पन्थीले भन्नुभयो, अक्षयकोषको रकम सानो भएपनि नाम चलेका विद्यालयबीचको सहकार्यले शैक्षिक विकासमा धेरै उपलब्धी हासिल हुनेछ । होराइजनले सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विद्यालयलाई २ लाख ५० हजार बराबरको अक्षयकोष प्रदान गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
बुटवल स्थित न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय वुटवलले श्री पञ्च आधारभूत विद्यालयमा अक्षयकोष प्रदान गरेर नया कामको थालनी भएको नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । उहाले नगरपालिकाले शिक्षाको क्षेत्रमा लगानी बढाएर बालबालिकाको शिक्षामा जोड दिएको बताउनुभयो । होराइजन विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले आर्थिक हिसावले कमजोर विद्यार्थीहरुको शिक्षाको लागि अक्षयकोष सहयोग गरेको बताउनुभयो । न्यू होराइजन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले अभिभावकले आर्थिकका कारण विद्यालयबाट बालबालिकालाई ड्रप आउट हुन नदिन अक्षयकोषले सहयोग पुग्ने बताउनुभयो । उहाले अक्षयकोषका लागि सही विद्यालय छनौट गरेकोमा र दुई विद्यालय बीच सम्बन्ध स्थापित गरेकोमा प्रदेश साँसद विष्णु पन्थीलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
न्यू होराइजन माध्यमिक विद्यालय बुटवलले ३० औं वार्षिक उत्सवका अवसरमा पञ्च आधारभूत विद्यालय सहित १० लाखको विभिन्न शैक्षिक संस्थालाई अक्षयकोष स्थापनाको लागि सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमित्रा परियारको अध्यक्षता तथा प्रद्यानाध्यापक जगतराज रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, शिक्षक, पत्रकार, अभिभावक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ८ : ३० बजे