८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पहिरोको उच्च जोखिमा रहेको सिद्धबाबा सुरूङमार्ग पाँच वर्ष भित्र सक्ने लक्ष्य



पाल्पा ।
स्वीस सरकारले सिद्धबाबा सुरूङमार्गको प्रारम्भिक अध्ययनको प्रतिवेदन सडक विभागलाई बुझाएको छ । निर्माण थालेको पाँचवर्ष भित्र काम सक्ने प्रतिवेदनमा उल्लेख रहेको सडक विभाग सुरूङ महाशाखाका निर्देशक घनश्याम गौतमले जानकारी दिए ।
अध्ययन प्रतिवेदन आइसकेकाले आगामी चैत मसान्त भित्र सूचना निकालेर ठेक्का पक्रियामा जाने गौतमले बताए । ‘हामीले ठेक्का पक्रियाबारेमा छलफल गर्दै छौं । ठेक्का पक्रियासँगै थपकार्य अघि बढ्छ,’ गौतमले भने ।
बाह्रै महिना पहिरोको उच्च जोखिमा रहेको यस सडकमा सडक दुर्घटनामा परी सयौं मानिसको ज्यानसमेत गइसकेको छ । तीन किलोमिटर क्षेत्र पहिरोको अत्यन्तै जोखिम मानिन्छ । तीन किलोमिटर क्षेत्रफलमा झण्डै सयभन्दा बढी स्थानमा पहिरो जाने गरेको गौतमको भनाई छ । ‘रनटेक’ (पहिरो रोकथाम गर्ने) बनाउने वा सुरूङमार्गका विकल्पमा जान सकिने विषयमा सरकारले प्राविधिक क्षमता भएका देशलाई प्रारम्भिक अध्ययन गर्न अनुरोध गरेको थियो ।
स्वीस सरकारले सिद्धबाबा मार्गको अध्ययनपछि ‘रनटेक’ भन्दा सुरूङमार्गकै विकल्पमा जान सुझाव दियो । त्यसैअनुरूप स्वीस सरकारले सुरूङ निर्माणको थप अध्ययनमा जुटेको थियो । स्वीस सरकारले परियोजना तयार गर्दा सरकारले नियुक्त गरेको परामर्शदाता कम्पनी इटेगोले गतवर्ष नै डीपीआर तयार गरेको थियो ।
सुरुङमार्ग बनाउने स्थलको २३ जेठ २०७५ मा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले स्थलगत अवलोकन पनि गरेका थिए ।
डीपीआरको प्रतिवेदनअनुसार सुरुङमार्ग निर्माणका लागि ९ अर्ब रूपैयाँ लागत लाग्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार, अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रूपैयाँ बराबरको स्रोत सुनिश्चिता गर्दै गत १५ कात्तिकमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयलाई पत्रसमेत पठाएको छ ।
योजनाअनुसार सिद्धबाबादेखि दोभानसम्म ११०० मिटर सुरुङमार्ग बन्ने छ । सुरुङमार्गसम्म पुग्ने साढे दुई किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने गौतमले जानकारी दिए ।
अत्यन्तै, जोखिममा रहेको सिद्धबाबामा एक किलोमिटरको सुरुङमार्ग बनाउन ७ अर्ब खर्च हुने अनुमान गरिएको छ । –नयापत्रिकाबाट

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  ७ : ३५ बजे