८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण हुने



काठमाडौं ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण हुने भएको छ ।
नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समितिले २०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको थियो ।
निर्माणका लागि रकम अभाव भएपछि काठमाडौं महानगरपालिकाले बज्रयान महाविहार निर्माणका लागि ४ करोड २९ लाख १८ हजार रुपैंया सहयोग गरेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकमबो चेक महाविहार संचालक समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यलाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरणपछि सम्वोधन गर्दै मेयर शाक्यले नेपाल गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामू परिचित भएको भन्दै लुम्बिनीमा नेपालको कला, संस्कृति र सम्पदा झल्किने गरी महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले कार्यक्षेत्र भन्दा बाहिर गएर अनुदान दिएको बताए ।
मेयर शाक्यले काठमाडौँ महानगरपालिका संघीय राजधानी भएको ठाउँको पनि महानगरपालिका भएकाले अन्य स्थानीय तहको भन्दा अलिक बढी नै जिम्मेवारी हुने भएको भन्दै अरु स्थानीय तहलाई पनि उदाहरण होस भनेर त्यहाँ अनुदान दिएको बताए ।
उनले नेपाल भ्रमण वर्ष २०२० नसकिदैँ बिहार निर्माण सम्पन्न गर्न आग्रह गर्दै महानगरपालिकले गरेको अनुदान रकमलाई दुरुपयोग नगर्न सुझाव पनि दिए ।
नेपाल बज्रयान महाविहार संचालक समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यले बिहार निर्माणमा राज्यको उपस्थिति देखाउन महानगरसँग अनुदान लिएको बताए ।

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  ६ : २८ बजे