मायादेवी अनलाइन, कपिलवस्तु ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पनि कपिलवस्तु सहित १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदैछ। हिजो (शनिबार) औषधी खान छुटेकाहरुलाई आज समेट्न लागिएको मन्त्रालयले जनाएको छ। यस बर्ष विभिन्न १३ वटा जिल्लाका ७४ लाख ६१ हजार मानिसलाई औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ। मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कपिलवस्तु, बाँके, बर्दिया, बाग्लुङ, दाङ, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदैछ। चिकित्सकहरुले खाली पेटमा औषधी नखान सुझाएका छन्। साथै दुई वर्षमुनिका बालबालिका, कडा रोग लागेका बिरामी, सुत्केरी र गर्भवती महिलालाई पनि हात्तीपाइलेको औषधी खुवाउन नहुने चिकित्सकहरुले जानकारी दिएका छन्। शरीरमा हात्ती पाइले रोगको परजीवि भएका ब्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाक लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्नसक्छन्। यस्तो लक्षण देखिएमा औषधिले प्रभावकारी रुपमा काम गरेको भनेर बुझ्न महाशाखाले जनाएको छ। हात्तीपाइले रोग मानिसलाई अशक्त,असमर्थ तथा अपाङग बनाउने एक सरुवा रोग हो। यो एक प्रकारको मसिनो जुकाजस्तै परजिवीको संक्रमणका कारण लाग्ने चिकित्सकले जनाएका छन्। यो संक्रमित लामखुट्टेको टोकाइबाट पनि सर्छ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केहि बर्षपछि मात्रै लक्षणहरु देखिन सुरु गर्छन्। नेपालमा सन् २००३ देखि आम औषधि सेवन कार्यक्रम सुरु गरिएको हो। नेपालमा सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिए लक्ष्य अनुसार काम हुन सकेको छैन। यस्तै कपिलवस्तुका पनि विभिन्न स्थानमा आज हात्तिपाइले विरुद्धको औषधी खुवाइने भएकाले पाएक पर्ने स्थानमा गइ औषधी सेवन गर्न सरोकारवालाले आग्रह गरेका छन् ।
२६ माघ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया