८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पर्यटन प्रवर्धन समितिको बैठक जगदिशपुर तालमा



कपिलवस्तु ।

जिल्ला स्तरीय पर्यटन प्रवर्धन समिति कपिलवस्तुको वैठक आज शुक्रबार जगदिशपुरमा वसेको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा गठित समितिले पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवर्धनका लागि पहिलो पटक जगदिशपुरमा वैठक आयोजना गरेको हो । वैठकमा गत महिना समितिले गरेका निर्णयको समिक्षा गर्दै आगामी कार्ययोजना तय गरेको हो । जिल्ला स्तरीय पर्यटन प्रवर्धन समितिका अध्यक्ष नारायण प्रसाद खनालले भ्रमण वर्ष सफल बनाउदै जिल्लाको पहिचान र विकासका लागि समिति कृयाशिल हुने बताउनुभयो ।

वैठकले पाल्पा संग्रहालयमा पठाउनुपर्ने जिल्लाको पहिचान झल्कने सामाग्री १५ दिन भित्र पठाउने गरी उपसमितिलाई पुन जिम्मेवारी दिएको छ भने कपिलवस्तु जिल्लाका प्रमुख गन्तब्य समेटिएको प्रचार प्रसार सामाग्री बनाउन प्रदेश नं. ५ उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयमा आवश्यक समन्वय गर्ने तयारी गरेको छ । जिल्लाको प्रमुख गन्तब्यमा शिवगढी, कपिलधाम, मधुवनधाम, जगदिशपुर ताल, तिलौराकोट, निग्लीहवा, गोटिहवा, तौलेश्वरनाथ मन्दिर, कुदान रहेका छन् । वैठकमा समितिका सदस्य पोमनारायण पौडेलले जिल्लाको धार्मिक तथा ऐतिहासिक स्थलहरुको संक्षिप्त जानकारी गराउदै प्रतिवेदन प्रकाशनको तयारीको काम अघि बढेको बताउनुभयो ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  ८ : १६ बजे