८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बम्जनको आश्रममा प्रहरीको घेराबन्दी मुख्य सहयोगी नियन्त्रणमा



सिन्धुली ।
‘लिटल बुद्ध’का नामले चिनिएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा शुक्रबार बिहान प्रहरीले घेराबन्दी गरेको छ । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका बम्जनलाई अदालतले पक्राउ गर्न पूर्जी जारी गरेपछि प्रहरी सक्रिय भएको हो ।
विभिन्न आश्रममा बस्दा पाँच जना अनुयायी र आनीहरु बेपत्ता पारिएको, आश्रमका आनीहरुमाथी यौन दुर्व्यवहार गरेको, यातना दिएको आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि उनलाई पक्राउ गर्न शुक्रबार बिहान प्रहरीले घेरा हालेको हो ।
जिल्ला अदालत सर्लाहीले आरोपित बम्जन पक्राउ गर्न बिहीबार पूर्जी जारी गरेपछि सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको हो ।
तर, बम्जन आश्रममा नभेटिएपछि प्रहरीले अनुसन्धानका लागि बम्जनका मुख्य सहयोगी तोप्चन गरुमार्ग गुरुका नामले चिनिएका ज्ञानबहादुर बम्जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले जानकारी दिनुभयो । प्रहरीको टोलीले शुक्रबार करिब ६ घण्टा बम्जनको आश्रमलाई घेराबन्दी हालेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६ शुक्रबार ००:००  १ : ५१ बजे