८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कूलतमा फसेर अपराध गर्नेले उन्मुक्ति पाउँदैनः आइजीपी खनाल



बुटवल ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध समस्यालाई प्रहरी र स्थानीय सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । बिहिबार बुटवलमा आयोजित निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्दको उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले लागूऔषधको समस्या देशभर रहेकोले त्यसलाई रोक्नका लागि प्रहरीले स्थानीय तहसँग मिलेर काम गर्ने अभियान चलाएको बताएका हुन् ।
उनले परामर्श केन्द्र स्थापना गरेर काम गर्दा लागूऔषधको समस्या नियन्त्र गर्न सकिने विश्वास समेत व्यक्त गरे । महानिरीक्षक खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

भारतसँगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसारपसारका अपराधहरु हुने गरेको उल्लेख गर्दै उनले समुदायको सहयोगले मात्र लागूऔषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताए । कूलतमा फसेकालाई परामर्शमार्फत पुनस्र्थापना गर्न केन्द्रको स्थापना गरिएको समेत उनले जिकिर गरे । खनालले कुनै पनि पहुँच वा ओहादाका भएपनि कूलतमा फसेर अपराध गर्नेलाई भने उन्मुक्ति नदिइने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायका बीचमा सामुहिक प्रयास जरुरी रहेको बताए । सो अवसरमा परामर्श केन्द्र सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक हेमबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बुटवलको वडा नं.५ को कार्यालय परिसरमा यो परामर्श केन्द्र स्थापना गरिएको हो ।

रातोपाटीबाट

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ८ : २१ बजे