मायादेवी अनलाइन, चारनम्बर ।
रातभर वाणगंगा नदीको ‘दोहन’ले सुत्न नपाएको भन्दै वाणगंगा-१ उप्टहवाबासी विहीबार नगरपालिकामा आए । नगरका उप–प्रमुख चक्र अर्याल र प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीसामु उप्टहवाबासीले नदीको दोहन रोकेर रातीमा सुत्न दिने वातावरण मिलाउन आग्रह गरे । रातभर नदीको उत्खनन गर्न जाने ट्याक्टरका कारण राम्रोसंग सुत्न नपाएको गाउँलेहरुको गुनासो थियो ।
‘रातभर नदी चोर्न खोला पस्ने ट्याक्टरको हो–हल्लाले केही दिन यता राम्रोसंग सुत्न पनि पाएका छैनौं, उप्टहवाबासीले मायादेवीसंग भने,–“यसमा नगरपालिकाको ध्यान जाओस भनेर नगरपालिकामा डेलिगेशन आएका हौं ।”
पटक–पटक गुनासा राखेपनि सुनुवाई त भएको छैन्, तरपनि यसपालि केही हुन्छ कि भनेर नगरपालिका धाएका हौं । गएको राती त सुत्नै नसके पछि सबै गाउँले एक भएर यहाँ आएका हौं, गाउँलेहरुले सामुहिक आवाजमा भने, “मिडियाले पनि यो विषयमा आवाज उठाईदिन पर्यो ।”
नदीमा ट्याक्टर पसेकोबारे जनप्रतिनिधि र प्रहरीलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको नाम नबताउने शर्तमा एक जनाले भने । नदीको संरक्षण र रेखदेख गर्ने स्थानीय सरकारको दायित्व हो कि होइन्, उनले प्रश्न गर्दै भने, “गाउँमा हेर्न जानु रातभर चोरेको मालको थुप्रै थुप्रो छ ।”
रातभर चोरी गरेको नदीजन्य पदार्थ नियन्त्रणमा लिन जनप्रतिनिधिलाई आग्रह गरेपनि उनीहरुले सामान्य रुपमा हेरेको गाउँलेले गुनासो गरे । अहिले तत्काल हेर्न जान नसकिने, माल उठाएको देख्न वित्तिकै खबर गर्नुस जनप्रतिनिधिले यस्तो जवाफ दिएको गाउँलेले बताए ।
उप्टहवाबासीको यो भनाईले जनप्रतिनिधि नदीजन्य पदार्थको संरक्षणमा उदासिन छन् भन्ने देखाउँछ । रातभर सुत्न नसकेर खोलाको दोहन रोक्न सिंगो गाउँले डेलिगेशनमा आउँदा समेत जनप्रतिनिधिले चासो नदेखिनु आफैमा गैरजिम्मेवार काम हो ।
गाउँलेको भनाई अनुसार इलाका प्रहरी कार्यालय पिपराको उच्च प्रहरी नेतृत्वले प्रति ट्याक्टर ५ हजार बुझ्ने गरेको छ । गाउँलेले भनेको यस सम्बन्धि भनाई हामीसंग रेकर्ड छ । रातभर खोलामा सेटिङ मिलाउने र प्रति ट्याक्टर ५ हजार लिने गरेको प्रहरी सामु गम्भिर आरोप लागेको छ ।
विशेष स्रोतका अनुसार नदीजन्य पदार्थको चोरी प्रहरीको संरक्षणमा हुने गरेको छ । नदीमा रातभर ट्याक्टर पस्दा दुई÷तीन जना प्रहरी वरिपरि हुने गरेको स्रोतको दाबी छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरिक्षक टुक बहादुर खत्रीले भने गएराती यस विषयमा आफुलाई थाहा नभएको बताए । ‘म रातभर डियुटीमै छु, कसैबाट यस सम्बन्धि जानकारी आएन्, खत्रीले भने, “खै कहाँ के चोरी भयो मलाई थाहा छैन् ।”
नगरपालिकाका उप–प्रमुख अर्यालले नदीजन्य पदार्थको चोरी निकासीबारे पटक पटक प्रहरीलाई भन्दा कुनै सुनुवाई नगरेको बताउँछन् । ‘चोरी तस्करी नियन्त्रणबारे प्रहरीलाई भन्दा भन्दै हैरान परियो अर्यालले मायादेवीसंग भने ।’
वाणगंगा नदीको दोहन हुन थालेको यो पहिलो पटक होइन् । यसै हप्तामात्र बनकसिया नाकामा दिन दहाडै ५ सय ट्याक्टर नदीजन्य पदार्थको चोरी गर्न खोलामा पसेका थिए । तत्काल प्रहरीलाई यस विषयमा खबर गरेपनि प्रहरी ट्याक्टर खोलाबाट निस्केपछि पुगेको थियो । खबर पाए लगत्तै नगर उपप्रमुख अर्यालको नेतृत्वमा ट्याक्टर समात्न गएपनि ट्याक्टर समात्न नसकेको स्वयम जनप्रतिनिधि बताउँछन् ।
पटक पटक यो विषयमा जनप्रतिनिधि र प्रहरीलाई भन्दा कुनै सुनुवाई हुन नसकेको वाणगंगाबासीको गुनासो छ ।
जनप्रतिनिधिले प्रहरीलाई, प्रहरीले जनप्रतिनिधिले नदी हेर्ने काम हो भन्दै विरोधाभास बोली बोल्ने गरेका छन् । उनीहरुको यो विरोधाभास बोलिले वाणगंगा नदीको संरक्षण कस्ले गर्ने रु उत्तर खोज्ने बेला आएको छ ।
नदी आसपासका सर्वसाधारण रातभर सुत्न नपाएको गुनासो गर्छन् । पटक–पटक यो विषय लिएर मिडिया धाउँछन् । जनप्रतिनिधि गुहार्छन् । तर, सम्बोधन हुन सक्दैन् । नदीजन्य पदार्थको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएपनि ठेकेदारको ठूलै गिरोह यसमा संलग्न भएको कारण पनि जनप्रतिनिधिले खतरा उठाउन नसकेको बताइन्छ ।
नदीको विषयमा जसले विरोध गर्छ उसलाई विभिन्न धम्की आउने गरेपछि यसमा कसैले खतरा उठाउन नसकेको उच्च स्रोतको भनाई छ ।
राज्यको शान्ति, सुरक्षा र सम्पत्तीको रेखदेख गर्ने जिम्मा पाएको प्रशासन र प्रहरी पनि वाणगंगा नदीको विषयमा मौन जस्तै बन्ने गरेका छन् । कपिलवस्तुको नेतृत्व गर्न आउने हरेक सिडिओ, एसपी र डिएसपीलाई नदीको दोहन रोकेर उहादरणीय काम गर्न सबैले सुझाव दिन्छन् । दु्ई÷चार महिना केही भए झै गरेपनि पछि पुनः समस्या ज्यू का त्यू हुने गरेको छ ।
२३ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया