८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

टर्कीमा यात्रुवाहक बिमान दुर्घटना, ३ को मृत्यु, १ सय ७० घाइते



एजेन्सी ।
इस्टानबुलको विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर तीन भागमा टुक्रिएको छ । घटनामा तीन व्यक्तिको मृत्यु र करिब १ सय ७० भन्दा बढी यात्रु घाइते भएको अधिकारीले बताएका छन् ।
‘द पेगासस एयरलाइन्स’को उक्त्त विमानमा १७१ यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा बुधबार दुर्घटना भएको हो।
दुर्घटना भएको विमान भारी हावाहुरी र वर्षाबीच अवतरण गर्ने प्रयासमा थियो। उक्त्त विमान दुर्घटनापछि विमास्थल बन्द गरेर अन्य उडानहरु अन्तै मोडिएको थियो ।
बोर्डमा रहेका अधिकांश मानिस टर्कीका नागरिक थिए । स्थानीय मिडियाका अनुसार विमान दुर्घटनामा १२ अन्य देशका २२ विदेशी नागरिक थिए ।
इस्टानबुलका गर्भनर अली येर्लिकायाका अनुसार, दुर्भाग्यवस पेगासस एयरलायन्सको विमान खराब मौसमको कारण धावनमार्गमा टिक्न नसक्दा ५०–६० मिटर सम्म चिप्लन पुग्यो । विमान रनवेको अन्त्यबाट ३० देखि ४० मिटरको बीचमा चिप्लिएको थियो।
कम लागतको पेगासस एयरलाइन्सको ८३ एयरक्राफ्ट, ४७ बोइङ र ३६ एयरबस विमान छ । जुन २० वर्ष अघिदेखि उडान भरिरहेको छ ।
स्वास्थ्यमन्त्री फाहरेट्टिन कोकाले घटनामा ३ जनाको मृत्यु भएको र १७९ घाइते भएको पुष्टि गरेका छन्। उनले घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  १२ : ३८ बजे