८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कांग्रेसको आकस्मिक बैठकमा कानुन व्यवसायी पनि सहभागी



काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक शुरु भएको छ। गच्छदारमाथि मुद्दा दायर भएपछि राजनीतिक रुपमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। अहिले देउवा निवास बुढानिलन्ठमा जारी बैठकमा कानुन व्यवसायी पनि संललग्न गरेका छन्। ललिता निवासको जग्गा किनबेचमा संलग्न भएको आरोपमा गच्छदारसहितका नेता तथा कर्मचारीहरुलाई अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ। गच्छदारलाई मुद्दा दर्ता गरेको विषयमा नेपाली कांग्रेसका नेताहरुले विभिन्न खाले प्रतिक्रिया दिएका छन्। कांग्रेस नेताहरुले नेकपाका नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विष्णु पौडेललाई उन्मुत्ति दिइएको भन्दै विरोध जनाएका छन्। उक्त घटना पछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’ त्यस्तै कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई नै प्रश्न गरेर टिप्पणी गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘ललिता निवास काण्डस् मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी? क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन। यति साह्रै निर्वस्त्र किन अख्तियार ?’

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  १२ : २५ बजे