८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

फैसला नआउँदै व्यवसायिक सटरमाथि ‘डोजर आतङ्क’, व्यवसायी भन्छन्, ठूलै अन्याय भो !



मायादेवी अनलाइन, बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरुमा व्यवसाय गरि बसेका व्यवसायीलाई अन्तः हटाइएको छ । अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि बिहीबार एकाबिहानै डोजरको सहायताले सटरहरु हटाइएको प्रशासनले जनाएको छ । मध्यरातसम्म पनि प्रशासनको अनुरोध नमानेपछि बाध्य भएर सटरहरु भत्काइएको प्रशासनको जनाउ छ । एकाविहानै ठूलो संख्यामा प्रहरी तैनाथ गरि ‘अस्पताल बगल’मा रहेका ७३ सटरहरुमाथि डोजर लगाइएको हो ।
यता सटरधनीले भने प्रशासनले आफुहरुलाई गरिखान नदिएको भन्दै विरोध जनाएका छन् । उठिबासै लगाउने गरि दादागिरी शैलीमा एकाविहानै आफुहरुका सटरमा डोजर चलेपछि व्यवसायीहरुले चरम अन्यायमा परेको बताएका हुन् ।
५ बर्षका लागि सम्झौता गरेर ढुक्कसंग बसेका सटर धनीहरुले यति छिट्टै यस्तो होला भनेर कल्पनासम्म नगरेको मायादेवी अनलाइनसंग बताए ।
करार सम्झौता परिपालनाको माग गर्दै अदालतको ढोकासम्म ढकढकाउन भ्याएका उनीहरुले न्याय नपाएको गुनासो पनि गरेका छन् । मायादेवी अनलाइनसंग कुराकानी गर्दै एक जना व्यवसायीले भने, ‘प्रशासनको बलमा जवरजस्ती सटर भत्काइयो, हामीलाई गरि खान दिइएन, प्रहरी प्रशासनले दादागिरी मच्चायो, हामीमाथि ठूलै अन्याय भो ।’
सर्वोच्च अदालतमा विचाराधिन यो विषयमा जिल्ला अदालतले व्यवसायीको विपक्षमा फैसला गरेपछि व्यवसायीहरु ‘मुर्मुरिए’का छन्् । जिल्ला अदालतको फैसला अनुसार प्रशासनले सटरमा डोजर लगाएको हो ।
तर, अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ । तर मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काइनु सर्वोच्चको ‘उपहास’ भएको एक जना व्यवसायीले बताए ।
अस्पतालले २०७५ फागुन २८ गते गोरखापत्रमा निकालेको सार्वजनिक सूचनाअनुसार ६१ जना व्यवसायीले र २०७६ जेठ २८ गतेको सूचनाअनुसार १२ जना व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए । अस्पतालका सटरबाट अस्पताललाई वार्षिक ९ करोड आम्दानी हुँदै आएको थियो । प्रदेश ५ सरकारले सटर भत्काएर पर्खाल लगाउने र बगैंचा बनाउने बताएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  १० : ४६ बजे