८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सालझण्डी-ढोरपाटन सडकः दश वर्षमा १० किलोमिटर पिच



अर्घाखाँची ।
रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्यो । तर एक दशकमा पनि यो सडकको काम पूरा भएको छैन । जम्मा १९६ किलोमिटर खडक खण्डमध्ये यो १० वर्षको अवधिमा जम्मा १० किलोमिटर मात्रै पिच गरिएको छ ।

सालझण्डीदेखि खुर्सानेसम्म ५ किलोमिटर र सन्धिखर्कको बिहारदेखि माटेसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको सडक आयोजना कार्यालयले जनाएको छ । यस्तै अर्को १० किलोमिटर पिचका लागि भने भर्खरै टेन्डर आह्वान गरिएको छ। यो सडकको केही खण्डमा काम रोकिएको लामो समय भइसक्यो । स्थानीयको अवरोध र निर्माण कम्पनीको लापरवाहीका कारण एक दशकमा पनि सडकले पूर्णता पाउन सकेको छैन ।

लामो समयसम्म पनि सडक नबनाएपछि १८ किलोमिटर ग्राभेलको जिम्मा लिएको बिटी जयबाबा जेभी स्वयम्भूसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया नै अघि बढेको छ ।

यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँचीको र गुल्मीको यात्रा छोटिन्छ। बागलुङ पश्चिमी क्षेत्रका स्थानीय, प्यूठानको पूर्वी क्षेत्र र रुकुमपश्चिमका स्थानीय यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिलेसम्म अधिकांश स्थानमा ट्र्याक पनि खुलाइएको छैन । २०७४ बैशाखमा काम सक्नुपर्ने अन्तिम सम्झौता भए पनि पटक–पटक आग्रह गर्दा काम नगरेपछि सम्झौता रद्ध गर्ने प्रक्रिया थालिएको सालझण्ढी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए । सालझण्डी–ढोरपाटन सडकको कञ्चनखोलादेखि ढुंग्री खोलासम्मको १८ किलोमिटर सडक ग्राभेल गर्न ४ करोड ३७ लाखमा ठेक्का भएको थियो । तर तोकिएको समयमा जम्मा पाँच किलोमिटर मात्र ग्राभेल भएको छ ।

यो सडक खण्डको ८६ किलो मिटर ग्राभेल र एक सय किलोमिटर कच्ची छ । यस सडकखण्डको ट्र्याक खोल्ने विषयमा सन्धिखर्कमा ६ वर्षदेखिको विवाद समाधान भएको छैन । लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्र्याक खोल्ने विषयमा अन्योलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएका छन् । सन्धिखर्कमा ट्र्याक खोल्ने विषयमा झन्डै तीन वर्षदेखि विवाद हुँदै आएको छ ।

सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरी दुईवटा विकल्प अघि सारे पनि दुवै ठाउँका स्थानीयले ट्र्याक खोल्न नदिने अडान राख्दै आएका छन् । सडक निर्माण गर्न कार्यालय खुलेको १० वर्षको समयमा एक अर्ब ५० करोड रकम खर्च भैसकेको छ ।

कुल ८ अर्बको डिपीआर रहेको योजना प्रमुख मरासिनीको भनाइ छ । सडक योजना बनेपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरू पनि ढोरपाटनमा घुम्न पाउने छन् । मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरू पुग्न सक्नेछन् ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  १० : ०६ बजे