८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बन्ने भयो कपिलवस्तु–रुपन्देही जोड्ने पुल, स्थानीयमा छायो खुसी



मायादेवी अनलाइन, चारनम्बर ।
पक्की पुल नहुँदा कपिलवस्तु–रुपन्देही आवातजावत गर्दा समस्या भैरहेका बेला पुलको शिलन्यास भएपछि स्थानीयबासीमा खुसी छाएको छ । कपिलवस्तुको वाणगंगा–१० पटनास्थित बनगवा गाउँमा पक्की पुल बन्ने भएको हो ।
रुपन्देहीको कञ्चन गाउँपालिका जोड्ने यो पुल त्यस क्षेत्रमा महत्वपूर्ण मानिन्छ । प्रदेश सांसद विष्णु पन्थीको पहलमा पुल बन्ने भएको हो । पुलको सांसद पन्थीले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
पुल उद्घाटन गर्दै उहाँले पुलले कपिलवस्तु–रुपन्देही आवगमनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी आउने पर्यटकलाई यो मार्ग हुँदै कपिलवस्तु आउन सहज हुने भन्दै यसले पर्यटन प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।
चुनावताका पटनाका जनताले यो पक्की पुल निर्माणका लागि जोडदार माग गरेका थिए । रुपन्देहीसंग सिधा सम्पर्कमा रहेका त्यस क्षेत्रका जनता काठे पुलको माध्यम हुँदै आवातजावत गर्ने गर्थे । बुधबार पक्की पुलको शिलन्यास भएपछि स्थानीयबासी खुसी भएका छन् । साथै उनीहरुले पुल निर्माणमा पहल गर्ने सांसद पन्थीलाई धन्यवाद दिएका छन् ।
दया निर्माण सेवा भैरहवाले लिएको पुलको ठेक्का डेढ बर्षभित्र सक्ने लक्ष्य छ । तर, दया निर्माण सेवाले असारसम्म पुलको काम सक्ने दाबी गरेको छ । प्रदेश सरकारले यो पुल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरेको हो ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ९ : ४८ बजे