८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिक्षकसँग अवैधानिक रूपमा रकम असुल्दै विद्यालय



सलिम अन्सारी, प्यूठान ।
जिल्लाको एक विद्यालयले नै शिक्षकहरूसँग गैरकानुनी रूपमा रकम असुल्दै आएको खुलेको छ। नौबहिनी-८ स्थित लुप्लुङ्ग माध्यमिक विद्यालयले विगत ४ वर्षदेखि शिक्षकहरूसँग गैरकानुनी रूपमा रकम असुली गर्दै आएको खुलासा भएको हो ।

शिक्षकहरूको नयाँ नियुक्त भएर आउँदा, सरुवा भएर विद्यालयमा आउँदा र जाँदासमेत आधा महिना बराबारको तलब विद्यालयले नै कटौती गर्ने गरेको शिक्षकहरूले गुनासो गरेका छन् ।

विद्यालयले आर्थिक सहयोगको हवला दिँदै शिक्षकहरूबाट रकम असुल्दै आएको हो ।

हालसम्म सात जना शिक्षकहरूले विद्यालयलाई आधा महिनाको तलब बुझाइसकेका छन् ।

०७२ फागुन १७ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले नवनियुक्त, सरुवा भएर आउने तथा जाने र अवकाश भएर जाने शिक्षकबाट १५ दिनको तलब विद्यालयलाई सहयोग गर्नुपर्ने नियम बनाएर रकम असुल्दै आएको हो । सुरुमा ४५ दिनको तलब कटौती गर्ने निर्णय व्यवस्थापन समितिले गरेको भएपनि पछि घटाएर १५ दिनमा झारिएको थियो ।

एक महिनाअघि उक्त विद्यालयबाट सरुवा भएर सरुमारानी-९५ जस्पुरस्थित भिमसेन मावि जाँदा विद्यालयले तलब काटेको शिक्षक हुकुम बहादुर केसीले बताए ।

मासिक ३७ हजार ९ सय ९० रुपैयाँ तलब बुझ्दै आएका केसीले १५ दिन बराबरको १८ हजार ९ सय ९५ रुपैयाँ तलब कटौती भएको गुनासो गरे । ‘लुप्लुङ्ग माविमा १३ वर्ष पढाएँ, उनले भने, ‘तर त्यसको मूल्यांकन भएन, उल्टै तलब काटियो ।’ यो त दण्ड तिराए जस्तो भएन ?

विद्यालयले शिक्षक गोपाल घर्तीमगर, शालिकराम भण्डारी र बसन्ता पोखरेलले ९ हजार ३ सय ६५ रुपैयाँका दरले आधा तलब बुझाएका छन् । करारमा कार्यरत शिक्षक विष्णुप्रसाद भण्डारीले ११ हजार ४ सय ६९, सुरज केसीले १८ हजार ९ सय ९५ र रीता पोखरेलले १४ हजार ३ सय ५ रुपैयाँ तलब विद्यालयले काटेको छ ।

सोही विद्यालयमै कार्यरत शिक्षकहरूले खुलेर विद्यालयको विरोध गर्न सकेका छैनन् । तर सरुवा भएर गएका शिक्षकहरुले विद्यालयको यस्तो निर्णयप्रति असन्तुष्टि पोखेका छन् । उनीहरूले शिक्षकहरूबाट लिएको जबरजस्ती सहयोगको रकम फिर्ता गर्नसमेत विद्यालयसँग माग गरेका छन् ।

शिक्षक एवम् सहयोगदाताबाट जुटेको सबै सहयोग रकम विद्यालयको आन्तरिक कोषमा जम्मा हुने प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीले बताए । ‘यही शीर्षकमा खर्च गर्ने भन्ने छैन्, उनले भने, आवश्यकताअनुसार खर्च हुन्छ ।’ विद्यालयले सहयोग जबजस्ती नमागेको उनको भनाइ छ । खानेपानी, विद्युत मर्मत, खेलकुद, फर्निचर खदिर, शैक्षिक अवलोकन भ्रमणजस्ता कार्यक्रममा विद्यालयको आन्तरिक स्रोतको बजेट खर्च गर्ने गरिएको भण्डारीको भनाइ छ ।

शिक्षा विकास तथा सम्वन्य इकाई प्यूठानका प्रमुख शिव पण्डितले तोकेरै शिक्षकहरूबाट पैसा उठाउनु गैरकानुनी भएको बताए । यसलाई रोक्नुपर्छ। यस विषयमा गाउँपालिकाको समेत ध्यानाकर्षण गराइने छ,’ उनले भने ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ९ : ०१ बजे