८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ट्रम्पविरुद्धको महाअभियोग सिनेटद्वारा अस्वीकृत



एजेन्सी ।
अमेरिका ५ महिनादेखि चल्दै आएको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रकरण अन्त्य भएको छ । अमेरिकी माथिल्लो सदन सिनेटले ट्रम्पले अधिकार दुरुपयोग नगरेको पक्षमा मत दिएसँगै यो प्रकरण समाप्त भएको हो । उनलाई राष्ट्रपतिबाट हटाउने अभियान पनि सकिएको छ ।

ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत रहेको सिनेटले ट्रम्प निर्दोष रहेको पक्षमा ५२ मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो । यसैगरी कंग्रेसलाई अवरुद्ध गरेको अर्को अभियोगमा पनि ट्रम्पले सफाइ पाएका छन् । उनको पक्षमा ४७ का विरुद्ध ५३ मत परेको थियो । रिपब्लिकन पार्टीका सांसद मिट रोमनीले मात्र ट्रम्पको विपक्षमा मत दिएका थिए ।

यसअघि डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले भने गत १८ डिसेम्बरमा ट्रम्पविरुद्धको महाअभियोग पारित भएको थियो ।

डेमोक्रेट सांसदहरुले आगामी राष्ट्रपति चुनावमा आफ्ना सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनलाई दबाब दिएको आरोप लगाएका थिए । सन् २०२० को नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ ।

ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आइरहेका थिए । सिनेटको निर्णयपछि उनको चुनावी अभियानका तर्फबाट जारी वक्तव्यमा अब फेरि उनी अमेरिकी जनताको सेवामा लाग्ने उल्लेख गरिएको छ । ‘यो कठोर परीक्षा र बकबास डेमोक्रेट पार्टीको चुनावी एजेन्डामात्र थियो, महाअभियोगको नाटक अमेरिकी राजनीतिक इतिहासमा सबैभन्दा खराब रुपमा गणना हुनेछ ।’

ट्रम्पले आफूमाथि लागेका महाअभियोगका आरोप र संसदको निर्णयबारे बिहीबार आफ्ना धारणा सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ८ : ५४ बजे