१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके प्रशासनमा उजुरी



कोहलपुर ।
नेपालगञ्ज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजविरुद्व बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । कलेजले प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीहरुले प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीको उजुरी आएको बाँकेका प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिए ।
सरकारले निर्धारण गरेभन्दा इन्टर्नसिपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख कलेजले मागेपछि विद्यार्थीले प्रशासनमा उजुरी दिएका हुन्। उनीहरूले निर्धा्रित शुल्कमै भर्ना हुन पाउनुपर्ने माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र विसं २०७६र७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस ) मा उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ निर्धारण गरेको थियो । शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क मागिएको गुनासो विद्यार्थीको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क मागेको जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक डा मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ११ : १० बजे