१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

वाणगंगामा शैक्षिक प्रर्दशनीः मावि तर्फ वाणगंगा प्रथम



मायादेवी अनलाइन, चारनम्बर ।
बाणगंगा नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनीमा बाणगंगा मावि गजेहडा, आधारभूत विद्यालय भर्तापुर र जनज्योति बाल विकास मोतिपुर प्रथम भएका छन् ।
नगरपालिकाको शिक्षा शाखाले मंगलबार सम्पन्न गरेको नगर भित्रका संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक सामग्री प्रदर्शनीको प्रतिस्पर्धामा मावि तर्फ बाणगंगा मावि गजेहडा प्रथम, हेमराज मावि हथौसा द्धितीय, महेन्द्र मावि कोपवा तृतीय र बाल ज्योति मावि गजेहडाले सान्त्वना स्थान हासिल गरेका छन् ।
यस्तै आधारभूत तर्फ आधारभूत विद्यालय भर्तापुर प्रथम, जननी मधुवन द्धितीय, जनसेवा बाणगंगा तृतीय र कर्मना आधारभूत विद्यालयले सान्तवना स्थान हासिल गरेका छन् । यता बाल विकास तर्फ भने जन ज्योतिमा मोतिपुर प्रथम, बाल ज्योति कप्टैया दोश्रो, कामता कोपवा तृतीय र सिद्धार्थ बालविकास गजेहडाले चौथो स्थान हासिल गर्न सफल भएका छन् ।
विजयी सबैलाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि नगर उपप्रमुख चक्र अर्याल, विशिष्ट अतिथि कार्यकारी प्रमुख चुडामणी पन्थी, शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम भट्टराई, श्रोत व्यक्ति कविराज भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले पुरस्कार प्रदान गर्दै शिक्षण सिकाइमा शैक्षिक सामग्री निकै महत्व हुने बताउनु भयो ।
कक्षा कोठामा पढाउँदा बढी शैक्षिक सामग्री प्रयोग गर्दा विद्यार्थीले रुचीपूर्ण तरिकाले सिक्ने उहाँहरुको भनाई छ । नगरले यस्ता कार्यक्रमलाई अब निरन्तर गर्ने बताउँदै उहाँहरुले हरेक विद्यालयले पनि यस्ता प्रदर्शनी समय–समयमा गर्नु पर्ने बताएका थिए ।
सामाजिक विकास शाखा प्रमुख भीषमराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नु भएको थियो । नगरका ३४ नीजि र सामुदायिक विद्यालयले भाग लिएको प्रदर्शनीमा विज्ञान प्रविधि, खेलकुद, मौलिक खाना तथा पौष्टिक खाना, धर्म संस्कृति झल्काउने चित्रहरु आदिलाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका बालबालिकाले संस्कृति तथा राष्ट्रियता झल्कने गीत संगित पनि पस्केका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ११ : ०२ बजे