१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

११ औँ बार्षिकोत्सवमा हिलवर्ट बोर्डिङको किन भयो यति धेरै प्रसंसा ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
हिलवर्ट इङलिस बोर्डिङ स्कुल बाणगंगा २ पिपराको ११ औँ बार्षिककोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम गरी बार्षिकोत्सव र अभिभावक दिवस मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालको अध्यक्षता र प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले हिलवर्ट स्कुल बाणगंगाकै नमुना विद्यालय भएको बताएका छन् ।


प्रदेश सांसद पन्थीले आफ्नो एक दशकको शैक्षिक यात्रामा धेरै ठुलो उपलब्धि हासिल गर्न हिलवर्ट सफल भएकाले आफूले हर समय सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । आफ्नो छोटो मन्तव्यको क्रममा उहाँले नीजि क्षेत्रका शैक्षिक संस्थालाई कत्ति पनि विचलित नहुन आग्रह गर्नुभएको छ । राज्यले नीजि शैक्षिक संस्थालाई उपेक्षा गरेर देशको विकास नहुने भन्दै उहाँले ढुक्क भएर शैक्षिक संस्थामा लगानी गर्न सुझाउनु भयो । यसमा आफूहरुको पूर्ण साथ रहने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘कहिलेकाही राज्यको ब्यावहारले नीजि शैक्षिक संस्था आत्तिएका छन् । म भन्दछु । नआत्तिनुहोस् । तपाइँहरु सुरक्षित हुनहुन्छ । ‘ 
सांसद पन्थीले बाणगंगा नगरको पूर्वी क्षेत्र शिक्षामा धेरै अगाडी बढिसकेकोले अब अभिभावकले कुनै चिन्ता लिन नपर्ने बताउनु भयो । विशेष गरी बाणगंगा नगरका पूर्वतर्फका नीजि र सामुदायिक विद्यालय शिक्षामा अब्बल रहेको बताउनु भयो । शिक्षासंगै सांसद पन्थीले विकासको कुरा पनि बोल्नु भएको छ । विकासको सन्दर्भमा उहाँले बाणगंगा प्रदेशमा तिलोत्तमा नगरपालिका पछिको दोश्रो भएको बताउनु भयो । पछिल्लो समय बाणगंगामा बसाइसराइको दर लगायतका धेरै कुरामा वृद्धि भइरहेकाले अबको केही बर्षमै नपत्याउने गरी नगरको विकास हुने बताउनु भयो ।


बाणगंगा नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले हिलवर्ट स्कुल वडाकै सान भएको बताउनु भयो । वडामा अरु पनि नीजि र सामुदायिक विद्यालय भए पनि विद्यार्थीको चौतर्फी विकासमा हिलवर्टको भूमिका विशेष रहेको बताउँदै अरु विद्यालयले पनि हिलवर्टको सिको गर्नु पर्ने बताउनु भयो । नगरका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, प्याबसन कपिलवस्तुका अध्यक्ष शिव गैरे लगायत, कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष लगायतका शैक्षिक वक्ताले पनि विद्यालयको उपलब्धिको खुलेर प्रसंसा गर्नुभएको थियो ।
विद्यालयका अध्यक्ष दीपक खनालले आफ्नो विद्यालयले अभिभावकलाई कत्ति पनि निरास नपार्ने बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षासंगै बालबालिकाका सिर्जनशिलता, ब्यावहारिक, नैतिक ज्ञान र संस्कारकोे विकास विद्यालयको प्रमुख लक्ष्य रहेको बताउनु भयो । धेरै अभिभावकले माध्यमिक शिक्षासम्म माया र विश्वास गरेकाले अब आफूहरुले कक्षा ११ र १२ को पठन पाठन पनि सुरु गर्ने तयारी गरिरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । सम्भव भएसम्म आगामी वर्षभित्रै कक्षा ११ को पठन पाठन पनि सुरु गर्ने उहाँको भनाई छ । विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेल र प्रधानाध्यापक कमल पौडेलले विद्यार्थीको असल बानी निर्माण आफूहरुको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
शिक्षक तेज प्रसाद आचार्य र डिल्लीराज पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरुले अद्भूत कला र सांस्कृतिक प्रस्तुति देखाएका छन् । प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीले एकल र सामुहिक रुपमा नेपालको कला संस्कृति, भेषभूषा, मातृ प्रेम र वात्सल्य लगायतलाई निकै कलात्मक र आकर्षक रुपमा प्रस्तुत गरेका शैक्षिक, खाना, तथा खेलकुद लगायतका प्रदर्शनीले सबैको मन खिचेको थियो ।

कार्यक्रममा सहभागी अभिभावकले पनि विद्यालयको शिक्षाले आफूहरु निकै सन्तुष्ट भएको बताउनु भयो । अभिभावक उषा आचार्यले मायादेवी अनलाइनसंग विद्यालयले पढाउने मात्र नभई विद्यार्थीको असल बानी निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । आफ्नो नानीले सानो कक्षामा पढ्दै गरेकाले कक्षा १२ सम्म नै यसै विद्यालयमा पढाउने आफ्नो चाहाना रहेको बताउनु भयो । अन्य अभिभावकले पनि विद्यालय विद्यार्थी र अभिभावक प्रति संवेदनशिल र जिम्मेवार देखिनु सबैभन्दा राम्रो पक्ष भएको बताउनु भयो ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ७ : २८ बजे