८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नारायणहिटीमा गणतन्त्र स्मारक बनाउने काम गलतः नेता नेपाल



काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीमा गणतन्त्र स्मारक बनाउने काम गलत भएको भन्दै त्यो हटाउनु पर्ने बताएका छन्।
भ्रमण वर्षबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आयोजना गरेको बैठकमा नेता नेपालले नारायणहिटीलाई अहिलेकै अवस्थामा राख्नु पर्ने बताएका हुन्। उनले भने, ‘नारायणहिटीमा कमर्सियल कम्प्लेक्स र विश्वस्तरको होटल बनाउने भन्ने सुनेको छु। बर्बाद पार्ने होरु अहिलेकै अवस्थामा रहन दिए हुँदैन ? त्यस्तो हो भने त्योभन्दा विपत्तिको अवस्था केही पनि हुँदैन।’ नेता नेपालले नारायणहिटीलाई म्युजियम बनाउनु पर्नेमा जोड दिए।
‘हाम्रो देशको आन्दोलनको झलक देखिने म्युजियम बनाउनु पर्छ। हामीले नारायणहिटीमा लगेर गणतन्त्र स्मारक बनायौँ। त्यो बनाउनै नहुने। गर्नै नहुने’, उनले भने, ‘त्यहाँ सिंगो देशमा जति पनि शाह वंशले शासन गरे, जसरी त्यो शासन व्यवस्थाबाट गुज्रियौँ, त्यहाँ त्यो झल्किने हुनुपर्दथ्यो।’
गणतन्त्र स्मारक गलत ठाउँमा बनाइएको हुँदा त्यो हटाउनु पर्ने नेता नेपालको भनाइ थियो। ‘गणतन्त्र स्मारक नयाँ ठाउँमा बनाउनु पर्नेमा नारायणहिटीमा बनाइयो। त्यो गलत थियो। गलत भएको हुँदा त्यो हटाउनुपर्छ’, उनले भने।
गणतान्त्रिक आन्दोलन, संविधान घोषणा र मुलुक संघियतामा प्रवेश गरेको इतिहासको अर्को संग्रहालय बनाउनु पर्नेमा नेता नेपालको जोड थियो। उनले भने, ‘१२६ वटा जातजाति भएको सानो मुलुक झल्काउने संग्रहालय बनाउनु पर्छ।’
यस्तै भ्रमण वर्षको सन्दर्भमा बोल्दै नेता नेपालले सिंगापुर, थाइल्याण्ड, कम्बोडिया, इन्डानेसिया, माल्दिभ्स लगायतका देशले पर्यटन क्षेत्रमा उल्लेख्य सफलता हात पारेको भन्दै त्यसबाट नेपालले पनि सिक्नु पर्ने बताए।
‘नेपाल भ्रमण वर्ष घोषणा गर्नु पहिला कत्तिको गृहकार्य भएको छरु अरु देशको अर्थमा हेर्ने हो भने कसरी सिंगापुर, थाइल्याण्डले पर्यटक आकर्षण गरेको गर्‍यै छन्। कम्बोडियाले कसरी ६० लाख पर्यटक ल्याएको छ। लाओसले कसरी पर्यटक बढाएको छ’, उनले भने, ‘यी सबै कुराको अध्ययन छ कि छैनरु अध्ययन गर्न लगाएका छौँ कि छैनौँ ?’
पयर्टन नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत भएको भन्दै नेता नेपालले सरकारले यसतर्फ गम्भीर भएर सोच्नु पर्ने बताए।
नेता नेपालको प्रश्नको जवाफमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटीमा कफी शपसम्म चलाउन सकिने भएपनि होटल चलाउने कुनै योजना नरहेको बताए।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ३ : ५२ बजे