८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा हात्तीपाइले रोगको ‘भयाभह स्थिती’, औषधि नखानेको जीन्दगी धरापमा !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु हात्तीपाइले रोगको उच्च जोखिममा छ । विश्व स्वास्थ्य संगठनले नै यो जिल्लालाई विश्वकै सबैभन्दा जोखिमयुक्त स्थानमा राखेको छ । हात्तीपाइले रोगमा विश्वकै जोखिमयुक्त बनेको कपिलवस्तु देशभित्र पनि उच्च तहको जोखिममा छ । स्वास्थ्यको रिर्पोटमा देशभर १.४७ प्रतिशत हात्तीपाइले संक्रमित रहेका छन् । तर, कपिलवस्तुमा १२.५ प्रतिशतमा हात्तीपाइलेको संक्रमण छ । गत बर्ष कुल एक सय जनामा लिइएको नमुना परिक्षणमा यस्तो तथ्य देखिएको हो । कुन १ सय मानिस मध्ये झण्डै १३ जनामा हात्तीपाइले संक्रमित भेटिएको छ ।
२५ माघ देखि यो रोगको औषधि जिल्लाभर खुवाईदै छ । जिल्लाका १० ओटै स्थानीय तहमा यो अभियान सफलता पूर्वक सम्पन्न गर्नका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिदै आइएको छ । हात्तीपाइले रोगको औषधि लगातार ६ बर्ष खाएर पुग्ने भएपनि कपिलवस्तुमा यो बर्ष १२ औं पटक औषधि खुवाउन थालिएको हो । विगतमा औषधि दिएपनि सबैले प्रयोग नगर्दा अभियान लम्बिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘६ बर्षसम्म औषधि खाए पुग्ने हो । तर कपिलवस्तुमा १२ औं पटक औषधि खुवाईदै छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्तो हुनु कति विडम्वनाको कुरा हो, डा. गंगाराम यादवले भन्नुभयो, “सबैले औषधि नखाईदिदा यस्तो अवस्था भएको हो ।”
सोमबार तौलिहवामा जिल्लाका पत्रकारसंग यो रोगबारे सहजीकरण गर्दै डा. यादवले औषधि प्रति नकरात्मक प्रचार गरिदा यस्तो समस्या आएको चर्चा गर्नुभयो । यो रोगको औषधि सबैभन्दा बढी सुरक्षित रहेको यादवले उल्लेख गर्नुभयो । विश्वका धेरै देशले यही औषधि खाएर रोग निराकरण गरिसकेको बताउँदै औषधिबारे कपिलवस्तुमा नकरात्मक प्रचार गरिनु दुखत रहेको बताउनुभयो । देशका ६३ जिल्ला यो रोगको जोखिममा रहेपनि हाल आएर १३ जिल्ला मात्र रहेको उहाँको भनाई छ । ‘सुरुमा हात्तीपाइले रोगको जोखिम ६३ जिल्लामा थियो । ‘लगातार ६ बर्ष औषधि खुवाएपछि अरु जिल्लामा अभियान सफलता पूर्वक सम्पन्न भयो, डा. यादवले भन्नुभयो, १३ जिल्लामा अझै औषधि खुवाईदै छ ।’ यी जिल्ला मध्ये सबैभन्दा उच्च जोखिममा रहेको जिल्ला कपिलवस्तु हो ।
हात्तीपाइले रोग तत्काल देखिने रोग नभएकाले मलाई छैन् भनेर औषधि खान नखोज्नु रोग निम्त्याउनु रहेको उहाँले चेतावनी दिनुभयो । जसको शरीरमा पनि यो रोगको जिवाणु रहने सक्ने उल्लेख गर्दै औषधि सेवन अनिवार्य भएको बताउनुभयो । “मलाई यो रोग लागे छैन्, किन औषधि खानु ? भन्ने प्रश्न आउन सक्छ । कृपया त्यस्तो नभन्नु । यसको जीवाणु सबैको शरीरमा हुन सक्छ, यो रोगको लक्षण तत्काल देखिने होइन् । कसैको शरीरमा यो रोगको जिवाणु भए सर्न पनि सक्छ डा. यादवले भन्नुभयो, जसले औषधि खादैन् उसको जीन्दगी झनै धरापमा छ ।”
औषधि निशुल्क पाइयो भनेर वेवास्था नगर्न उहाँले आग्रह गर्नुभयो । अभियान स्वास्थ्यकर्मीको मात्र नभएको भन्दै हरेक कपिलवस्तुबासीको भएको बताउनुभयो । स्वास्थ्यकर्मीहरु औषधि खुवाउने माध्यम मात्र भएको उहाँको भनाई थियो ।
जिल्लामा १० औं पटकसम्म महिला स्वास्थ्य स्वय्मसेविकाले औषधि खुवाउँदै आएका थिए । तर, स्वयमसेविकाले औषधि खुवाउँदा अधिकांशले नखाई दिएपछि अभियानलाई फरक ढंगले सञ्चालन गरिएको छ । गत बर्ष देखि स्वास्थ्यकर्मीको संलग्नतामा औषधि खुवाउन थालिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । यो बर्ष औषधि दिने मात्र नभई स्वास्थ्यकर्मीको निगरानीमै खुवाउने कार्यक्रम राखिएको भगतले जानकारी दिनुभयो ।
छिमेकी जिल्लाहरु रुपन्देही, अर्घाखाँची, पाल्पा लगायतका जिल्लामा यो अभियान सफलतापूर्वक सम्पन्न भएपनि कपिलवस्तुमा ११ औं पटक औषधि खुवाउदा पनि निको नभएको हो । औषधि खाएर केही नहुने पनि स्वास्थ्यकर्मीले प्रष्ट पारेका छन् । “जसको शरीरमा यो रोगको जीवाणु छ । उसलाई मात्र औषधि खाएपछि केही फरक महसुस हुन्छ, स्वास्थ्यकर्मीले भने, अरुलाई केही हुन्न ढुक्क भएर औषधि खानुस ।”

प्रकाशित मिति : २१ माघ २०७६ मंगलबार ००:००  ८ : ३१ बजे