८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अखिल नेपाल युवक संघको मेची–महाकाली साइकल अभियान कपिलवस्तुमा



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको मेची महाकाली अभियानलाई सोमबार कपिलवस्तुका बिभिन्न स्थानमा स्वागत गरिएको छ । गत माघ १५ गते महेन्द्रनगरको गड्डा चौकीबाट सुरु भएको साइकल र्यालीलाई कपिलवस्तुका बिभिन्न स्थानमा स्वागत गरिएको हो ।
‘समृद्धिको बाधक भ्रष्टाचार अन्त्य गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने नाराका साथ सुरु भएको र्याली ६ दिनपछि कपिलवस्तु आएको हो । र्यालीमा सहभागी टोलीलाई राष्ट्रिय जनमोर्चा कपिलवस्तु, युवक सघका प्रतिनिधि लगायतले चन्द्रौटा, गोरुसिंगे, बनगाई, चार नम्बर, गजेहडा र पिपरामा स्वागत गरिएको थियो ।
टोलीले बाणगंगा नगरपालिकामा आएर मोटर साइकल र्याली पनि निकालेको छ । चार नम्बरबाट र्याली सुरु गरी गजेहडा सांस्कृतिक कार्यक्रम गरी पुनः चार नम्बर र पिपरामा आई कोण सभामा परिणत भएको थियो ।
सभामा बोल्दै नेताहरुले मुलुकमा बढेको भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताएका छन् । अन्टुकका केन्द्रिय अध्यक्ष तथा अभियान कमाण्डर अनिल किशोर घिमिरेले देशमा भ्रष्टाचारले जरा गाडेको बताउँदै यसमा सचेतना जगाउन अभियान सुरु गरिएको बताउनु भयो । मुलकमा कम्युनिष्टहरुले सरकार चलाए पनि सच्चा कम्युनिष्टहरको बदनाम भएको उहाँको भनाई छ । मायादेवी रेडियोसंगको कुराकानीमा उहाँले सरकारले ल्याएका विधेयकमध्ये नागरिकता सम्बन्धि विधेयक सबैभन्दा बढी खतरनाक रहेकाले यसको खारेज गर्नुपर्ने बताउनु भयो ।
केन्द्रिय कोषाध्यक्ष बसन्त ‘बन’ले स्थानीय तहको तल्लो एकाई वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म भ्रष्टाचार मौलाएको यसले देशलाई खोक्रो बनाएको बताउनु भयो । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि कमाउतन्त्रमा लागेका छन्, उहाँले भन्नुभयो– ‘उनीहरुलाई पाल्न जनताले थाप्लोमा करको भारी बोकीरहेका छन् ।’ जनताबाट उठेको करको कुनै सदुपयोग नभएको र संघीयताको नाममा मुलुकको अर्थतन्त्र कमजोर बनाइरहेकाले अब सबै मिलेर संघीयता खारेज गर्नुपर्ने उहाले बताउनु भयो ।
कार्यक्रममा कपिलवस्तुका प्रवक्ता छविलाल गैरे लगायतले बोल्नु भएको थियो । अभियानको क्रममा रक्तिमका राष्ट्रिय कलाकारले जनचेतनामुलक प्रस्तुति पस्केका थिए । कपिलवस्तुको कार्यक्रम पछि टोली रुपनदेही पुगेको छ ।
सोमबार नै टोलीले कञ्चन गाउँपालिकाको हरैयामा पनि कार्यक्रम गरेको छ । अध्यक्ष अनिल किशोर घिमिरेका अनुसार आगामी फाल्गुण १ गते टोली मेचीको काकँडभित्तामा पुगेपछि औपचारिक रुपमा समापन हुने छ ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ६ : ०५ बजे