८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा नगरपालिकामा हात्तीपाइले रोग निवारण अभियान तीव्र



मायादेवी अनलाइन, चारनम्बर ।
बाणगंगा नगरपालिकामा हात्तीपाइले अर्थात् फाइलेरिया रोग निवारणको लागि अभिमुखीकरण अभियान तीव्र भएको छ । बिभिन्न वडाहरुमा अभियान चलाएको नगरपालिकाले सोमबार वडा नम्बर ३ र ४ लाई केन्द्रित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमबाट दुवै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी लगायतलाई यस अभियानबारे जानकारी गराइएको छ ।
कार्यक्रममा हात्तीपाइले रोग निवारण अभियानको बारेमा नगरपालिकाका स्वास्थ्य अधिकृत भक्ति पाण्डेले प्रकाश पार्नु भएको थियो । नगरपालिकाले सन् २०२० भित्र नगरबाट हात्तीपाइले रोगलाई निवारण गर्ने गरी अभियान चलाएको हुँदा सबैले औषधी सेवन गरेमा कसैलाई हात्तीपाइलेको जोखिम नहुने बताउनु भयो ।
उहाँले समाजका जिम्मेवार ब्यक्तिले हात्तीपाइलेको औषधी सेवन नगर्दा समाजमा भ्रम रहेको भन्दै सबैले देख्ने गरी सार्वजनिक स्थलमा औषधी सेवन गर्न अगुवाहरुलाई सुझाउनु भयो ।
गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज द्रोर्ण बेल्बासेको संचालनमा सम्पन्न अभिमुखीकरणमा वडा नम्बर ३ वडाध्यक्ष सन्तराम थारु, ४ नम्बर वडाका वडाध्यक्ष गणेश क्षत्री, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्यौपाने, युवा प्रतिनिधि दिनेश क्षेत्री लगायतले बोल्दै अभियान सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँहरुले टोल टोलमा पुगेर जनतालाई औषधी सेवनबारे सचेत गराउनु पर्ने र सबैले देख्ने गरी औषधी सेवन गर्नु पर्ने बताउनु भयो । यसैबीच आगामी माघ २५ गते वडा नम्बर ३ र ४ मा ३ स्थानमा केन्द्र तोकेर हात्तीपाइलकोे औषधी खुवाइने भएको छ ।
वडाका कोही पनि यस रोगको औषधी सेवनबाट बच्ति हुन नपरोस् भनेर अभियानकै रुपमा सोही दिने औषधी खाने कार्यक्रम राखिएको स्वास्थ्य अधिकृत भक्ति पाण्डेले बताउनु भयो । त्यसपछि वडाका हरेक विद्यालय र टोलटोलमा अभियान संचालन गरिने पनि जनाइएको छ । नगरपलिकाले अहिले दैनिक रुपमा १० वटै वडामा यस रोगविरुद्धको औषधी सेवन गर्ने अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ६ : ०१ बजे