१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

पाल्पाका किसान कालो धान खेतीप्रति आकर्षित



पाल्पा ।
बहुगुणकारी कालो धानका विशेषता रहेको ‘जी–६० ब्ल्याक राइस’ खेतीप्रति पाल्पाका किसान आकर्षित भएका छन् । किसानको लगानीमा परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ ।

पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले परीक्षणका रूपमा कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ खेती हुँदै आएको हो ।

२ वर्षअघि परीक्षण रूपमा लगाइएको कालो धान सफल भएपछि यस क्षेत्रका किसान यो धानबाली खेतीप्रति आकर्षित हुँदै आएका छन् ।

स्थानीयस्तरमा ब्ल्याक राइसलाई प्रतिकिलो ५ सय रूपैयाँदेखि ८ सय रूपैयाँसम्म कारोबार हुँदै आएपछि यस अन्नबालीप्रति किसानको आकर्षण बढ्दो छ ।

अन्य चामलका मात्रामा ब्ल्याक राईस मिसाई नियमित रूपमा सेवनले ब्ल्याक राइसको सेवनले क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरूद्ध लड्न सक्ने क्षमता बढाउँदछ ।

यो चामललाई पकाउनुअघि दुई घण्टा भिजाउनुपर्छ । भिजाएको पानीलाई सर्वतका रूपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अन्य चामलको तुलनामा यो २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक रहेको व्यवसायीको भनाइ छ ।

यो चामलमा एन्टी अक्सिडेन्ट्सको मात्रा ब्लुबेरीभन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुका कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो ।

यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन सहयोग पुर्‍याउँछ । रासस

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ५ : ४६ बजे