१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कपिलवस्तुमा १२ औं पटक हात्तिपाइले रोग विरुद्धको औषधि खुवाईदै, उपलब्धी शून्य



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा हात्तीपाइले रोगको संक्रमण बढि देखिएको छ । गतवर्ष जिल्लाको महाराजगंज, कृष्णनगरको बहादुरगंज र वाणगंगाको पिपरामा गरिएको नमुना रगत परिक्षणमा हात्ती पाइले रोगको संक्रमण बढि भेटिएको हो । तीन स्थानकै नमुना सर्वेमा १२.५ प्रतिशतमा हात्ती पाइले रोगको परिजीवि देखिएपछि समग्र जिल्ला यसबाट प्रभावित भएको हो । जसले गर्दा हात्ती पाइले रोगको औषधी खुवाउने अभियान जिल्लामा असफल भएको छ ।
११ औं पटकसम्म औषधी खुवाउदा पनि हात्ती पाइले रोगको संक्रमण बढि देखिएपछि अभियान यसवर्ष पनि संचालन हुने भएको छ । नेपाल सरकारको हात्ती पाइले रोग निवारण गर्ने लक्ष्य कपिलवस्तु सहित १३ जिल्लामा पुरा हुन नसकेपछि औषधी खुवाउने अभियानलाई निरन्तरता दिनुपरेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । राष्ट्रिय हात्ती पाइले रोग निवारण अभियान २०७६ को जिल्ला स्तरीय समन्वय समिति कपिलवस्तुको वैठकले हात्ती पाइले रोग विरुद्ध औषधी खुवाउने अभियानलाई प्रभावकारी बनाउने बताएको छ ।
सामान्य तय छैठौं पटक सम्म नियमित औषधी खुवाएपछि हात्तीपाइले रोगको संक्रमण दर घट्नु पर्ने हो, तर घटेन । लामखुट्टेको टोकाईबाट सर्ने माइक्रो फाइलेरिया १ प्रतिशत भन्दा कममा झार्ने लक्ष्य थियो तर कपिलवस्तुमा नमुना सर्वेमा यो दर १२ दशमलब ५ प्रतिशत रहेपछि अभियान असफल भएको हो । २०७५ सालमा वाणगंगा, कृष्णनगर र महाराजगंज नगरपालिकामा हात्ती पाइले रोगको नमुना सर्वेक्षण गरिएको थियो । दुवै नगरपालिकाको सर्वेक्षणले समग्रमा १२ दशमलव ५ प्रतिशत रोगको सक्रमण देखिएको थियो । खासगरी ग्रामिण क्षेत्रमा हात्तीपाइले रोगको संक्रमण घटेको भएपनि नगरका बजार क्षेत्रमा बढि देखिएको स्वास्थ्य कार्यालयका कार्यक्रम प्रमुख उदय चौरासियाले जानकारी दिनुभयो ।
छैठौं पटकमा निवारण हुनुपर्ने हात्तीपाइले १२ औं पटक सम्म पनि औषधी खुवाईरहनु पर्ने अवस्था आउनु हामी सवैको कमजोरी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र प्रसाद भगतले बताउनुभयो । कपिलवस्तुमा २०६४ साल देखि नियमित औषधी खुवाउने अभियान संचालन गर्दा पनि प्रभावकारी नहुँदा र व्यक्तिले औषधी नखाईदिएर यसको संक्रमण दर नघटेको प्रमुख भगतले बताउनुभयो ।
कपिलवस्तु जिल्लामा माघ २५ गते देखि २ वर्षदेखि ७० वर्ष उमेरका व्यक्तिले हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने अभियान संचालन हुदैछ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले सवै स्थानीय तहमा अभियानलाई प्रभावकारी बनाउन र सवै नागरिकलाई औषधी सेवन गरी स्वस्थ नागरिक बन्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ९ : २४ बजे