८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गएराति २ गोल गरेका रोनाल्डोको नयाँ कीर्तिमानी



एजेन्सी ।

क्रिष्टियानो रोनाल्डोले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। लगातार गोल गर्दै आएका रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलमा दुई गोल गरेर पछिल्लो १५ वर्षमा युभेन्टसका सिरी ए लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् ।

सन् २००५ मा डेविड ट्रजेगुएटले सिरी ए का ९ खेलमा लगातार गोल गरेका थिए । रोनाल्डोले पछिल्लो ६ खेलमा १० गोल गरेका छन् ।

यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी ३३ खेलमा ३३ गोल गरेका रोनाल्डोले सन् २०१८ मा युभेन्टस आएयता ७० खेलमा ५० गोलको आँकडा पनि पूरा गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले फियोरेन्टिनालाई ३–० ले पराजित गरेको हो । ४० औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ८० औँ मिनेटमा पाएको पेनाल्टीमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा माथेज डी लिग्टले गोल गरेपछि युभेन्टस ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको युभेन्टसको २२ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानको इन्टर मिलानको समान खेलबाट ५१ अंक छ ।

आइतबार राति नै भएका अरु खेलमा लाजिओले एसपिएएललाई ५–१ तथा लीचेले तोरिनोलाई ४–० ले पराजित गरेका छन् । यस्तै एट्लान्टा र जेनोआले २–२ तथा एसी मिलान र हेल्स भेरोनाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ६ : ३३ बजे