८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सम्भु आचार्यले जिते ‘प्रथम एसईई आइडल’को उपाधि



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा पहिलोपटक आयोजना भएको एसईई आइडल सिजन वानको उपाधि स्काइलार्क इङ्ग्लिस बोर्डिङ स्कुल ओदारीले हात पारेको छ । माउण्ट एभरेष्ट एजुकेश्नल जोन मेज कन्सल्टेन्सीले मायादेवी रिसार्ट बाणगंगा वैरियामा शनिबार सम्पन्न गरेको आइडलको उपाधि स्काईलार्कका छात्रा सम्भु आचार्यले हात पारेका हुन् ।
उपाधि संगै उनले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति, नगद ७ हजार, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् । उनले जिल्लाभरबाट आइडलमा सहभागी भएका १ सय ४० बढी विद्यार्थीलाई पछि पारे । प्रतियोगितामा लिटिल स्टार इङलिस बोर्डिङ स्कुल ओदारीका सरोज घिमिरेले दोश्रो स्थान हासिल गर्दै छात्रवृत्तिसहित नगद ५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् ।
जनता मावि पिपराकासागर भण्डारी तेश्रो हुँदै आंसिक छात्रवृत्तिसहित नगद ३ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल हुँदा पारिजात माविका विशाल पौडेल र सोसियल बोर्डिङका प्रशान्त भुषालले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । स्थान हासिल गर्ने सबैलाई कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम भट्टराई, सिद्धार्थ क्याम्पसका प्राचार्य खेमराज शर्मा, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, गौतम बुद्ध एच वान हेल्थ केयर प्रालीका प्रमुख राजन भुषाल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कन्सल्टेन्सीका अध्यक्ष माधव बञ्जाडे र कार्यक्रम संयोजक चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, सिद्धार्थ क्याम्पसका प्राचार्य शर्मा, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, बाणगंगा माविका प्रधानाध्यापक रामप्रसाद भण्डारी, न्यू होराइजन कलेज बुटवलका सहायक प्राचार्य इन्द्र भुषाल, तिलोत्तमाका सह प्राचार्य नविन्दु ढकाल लगायतले बोल्नु भएको थियो । उहाँहरुले जिल्लामा आयोजना भएको कार्यक्रम निकै उदाहरणीय भएको बताउँदै आयोजकलाई धन्यबाद दिनुभएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ७ : १५ बजे