८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जगदीशपुर तालमा मनाईयो २४ औं विश्व सिमसार दिवस



मायादेवी अनलाइन, तौलिहवा ।
बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर तालमा विश्व सिमसार दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । वडा कार्यालय र वन डिभिजन कार्यालय कपिलवस्तुको सहकार्यमा २४ औं बिश्व सिमसार दिबसको अवसरमा जगदीशपुर जलाशय ब्यवस्थापन बहुसरोकार मञ्चको आयोजनामा सातौं चरा महोत्सव, पुरुष नृत्य प्रतियोगीता र महिला म्याराथुन दौड, रक्तदान र बिद्यालयस्तरीय निबन्ध प्रतियोगीता सम्पन्न गरिएको थियो ।
सो अवसरमा तालमा सांसद अतहर कमाल सहीत आधा दर्जन अतिथिले तालमा माछाको भुरा हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा सांसद कमालले जगदीशपुर ताल प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय स्थल रहेको बताए । उनले लुम्बिनीसंग जोडेर जगदीशपुर तालको विकासले लिनु पर्ने बताए । ‘ताल संरक्षणको जिम्मा यहीका सरोकारवालाले गर्नुपर्छ यसको विकास गर्ने जिम्मा स्थानीय, प्रदेश सरकारको हो’ उनले भने ।
पूर्व मन्त्री दीप कुमार उपाध्यायले प्राकृतिक बिविधताले भरिएको जगदीशपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए । स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने उनले बताए । आफुले पनि तालको विकास संरक्षका लागि प्रयास गर्ने उनले बताए । उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए । बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लगायतका स्थलसंग जोड्ने गरी यस क्षेत्रको विकास गर्नुपर्ने बताए ।
दिवसका अवसरमा थारु समुदायहरुले लाठी नाच लगायतका कला प्रस्तुत गरेका थिए । ताल बरिपरि गरिएको महिला र पुरुषको दौड प्रतियोगिताले आकर्षण थपेको थियो । म्याराथुन, निबन्ध प्रतियोगीताका बिजयी खेलाडीलाई पुरसकृत गरिएको थियो । यस्तै दिवसकै अवसरमा चरा महोत्सव समेत गरिएको थियो । तालमा चरा हेर्न आउनेहरुका लागि भ्यू टावर निर्माण सगै बाईनाकुलरले चरा अवलोकन गराईएको छ ।
लिलत गुरुङको अध्यक्षता, सुन्दर पाण्डेयको संचालन र अब्दुर रसिद खाँको स्वागत मन्तब्यमा भएको कार्यक्रममा नेकपाका बावुराम खनाल, वडा अध्यक्ष शिव बहादुर वाग्ले, मोहनलाल शर्मा, वन डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
एक सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय १८ बढी प्रजातीका चराचुरुङ्गी, ८ प्रजातीका उभयचर र ३८ प्रजातीका सरिसृप पाईने नेपाल पंछि संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । बिश्वमै दुर्लभ मानिएका आठ प्रजातीका चराचुरुङ्गीहरु पनि देख्न पाईन्छ । त्यस्तै तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाईने बरिष्ठ चराबिद् डा. हेमसागर बताए ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ७ : १० बजे