८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगाकी एक बालिकाको युनिभर्सल मेडिकल कलेजको ‘लापरबाही’ले मृत्यु



बुटवल ।
भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ८ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआएपछि उपचारका लागि मेडिकल कलेजमा र्पुयाइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेजर्पुयाइएको थियो । तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डिस्चार्ज पनि भएन । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको परिवारको आरोप छ ।
नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताइन् ।
शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दाबी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाकी मृत्यु भएको हो ।
पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा र्पुयाइएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताइन् ।
‘मेडिकल कलेजमा चौबिसै घण्टा डाक्टर हुन्छन्, त्यहाँ लैजानुस् भनेर रिफर गरेपछि राति १२ बजे बिरामीलाई र्पुयाएका हौं,’ सरुले भनिन्, ‘यहां ल्याउँदासम्म बच्ची राम्रै अवस्थामा थिइन्, मज्जाले कुराकानी गर्दै्थिन्,डाक्टर बोलाउनुभन्दा पाँच मिनेटमा आउनुहुन्छ भन्दाभन्दै ८ घण्टासम्म आएनन्, सिकारु नर्सको गलत उपचार र ओभरडोज औषधिले अकालमै ज्यान गयो ।’
भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको सरुले बताइन् । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले आमासँग राम्रोसँग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको सरुले बताइन् ।
८ घण्टासम्म डाक्टर नआएपछि बिरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले बताइन् । ‘८ घण्टासम्म न डाक्टर आएर चेकजाँच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए,’ उनले भनिन्, ‘अस्पतालको लापरबाहीले नै बच्चीको मृत्यु भएको भन्ने ठहर भएको छ ।’ सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् ।
अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले घटनाको छानबिन, दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग राख्दै दबाब दिएपछि मेडिकल कलेजले छानबिन समिति बनाएको छ ।
डा. सन्जिव रन्जनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको र त्यसले बिरामीको उपचारको फाइल हेरेपछि प्रतिवेदन बुझाउने मेडिकल कलेजका जनसम्पर्क अधिकारी सुशील गुरुङले बताए ।
‘हामीले अहिले नै उपचारमा लापरबाही भयो कि भएन भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन समिति बनाएका छौं, त्यसले दिएको प्रतिवेदन हेरेपछि मात्रै भन्न सक्छौं र गल्ती देखिए कारबाही पनि गर्छौं ।’-टिआर शर्मा/अनलाइनखबरबाट

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ६ : ४६ बजे