८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द



एजेन्सी ।

भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द भएको छ । जनवरी ३१ तारिखमा अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भएको हो । सन् १९४० को मे ११ तारिखमा सुरु भएको यो रेडियोलाई एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो ।

रेडियोको लोकप्रियता र सुन्ने स्रोताको संख्या घट्दै गएकाले रेडियो बन्द गर्नु परेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहने खबरमा उल्लेख गरेको छ ।

दोस्रो विश्वयुद्धताका स्थापना भएको बीबीसी रेडियोको प्रसारण ऐतिहासिक रहेको पनि खबरमा उल्लेख गरिएको छ । संकटकाल र कुनै घटनामा बीबीसी रेडियोले प्रसारण गरेको खबरलाई आधिकारिक मान्ने गरिन्थ्यो । भारत र खाडी देशमा बीबीसी रेडियोको करौडौँ स्रोता रहेका पत्रकार कुर्बान अलीले बताउनु भएको छ ।

बेलायतको पक्षमा खबर सम्प्रेषण गर्न खुलेको थियो रेडियो

दोस्रो विश्वयुद्धको समयमा बेलायतको प्रचारप्रसारका लागि भन्दै यो रेडियोको स्थापना गरिएको थियो । सन् १९४० को मे ११ तारिखमा बीबीसी हिन्दुस्तानी सेवाको १० मिनेटको समाचार बुलेटिन रेडियोबाट प्रसारण गर्दै बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण गरिएको थियो ।

सन् १९४१ मा बीबीसी हिन्दुस्तानी सेवाको समय बढेर आधा घण्टा पुगेको थियो । यसको पहिलो सञ्चालक जुल्फिकार अली बुखारी हुनुहुन्थ्यो । बुखारी १९४५ सम्म सञ्चालक हुनुभयो । १९४७ पछि बुखारी पाकिस्तान रेडियोको पहिलो महानिर्देशक बन्दै बीबीसी रेडियोबाट बिदा हुुनु भएको थियो ।

बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवाको अन्तिम कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइकलाई ढोग्नुभएको थियो । रेडियो बन्द हुँदै गर्दा जोशीसहितका कर्मचारी भावुक बनेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ३ : १५ बजे