७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

संसदीय मामिला पत्रकार समक्ष सभामुखले भने, प्रदेश सभाको २ वर्षे कार्यकाल सफल



रुपन्देही ।
प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले २ वर्षे कार्यकालमा प्रदेशसभाको पूर्वाधार बनाउने काम गर्न सफल भएको बताएका छन् । उनले प्रदेशसभाको सपथ लिदा संरचनाकै बारेमा स्पष्ट नरहेको अवस्थामा २ वर्षको अवधिमा आधारभूत संरचना बनाउन आफूहरु सफल रहेको बताए ।

प्रदेशसभा स्थापना दिवसको सन्दर्भममा संसदीय मामिला पत्रकार समाजले प्रदेश ५ ले शनिबार बुटवलमा गरेको खुल्ला संसद अवधारणा र अभ्यासको कसीमा प्रदेशसभाको २ वर्ष बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले २ वर्षमा सन्तोषजनक नै काम गरेको दावी गरे ।

केही कमजोरी हुनसक्ने भन्दै नियतवश रुपमा भने राम्रो काम गर्नुपर्छ भन्ने उदेश्यले काम गरिएको उनले बताए । ‘प्रदेशसभाको नेतृत्व लिदै गर्दा व्यवस्थापन जटिल थियो, तर हामीले पूर्वाधार बनाउन सफल भएका छौं’ सभामुख घर्तीले भने । उनले सचिवालय, सभाहल, विषयगत समिति कार्यालय र संवादकेन्द्र जस्ता न्यूनतम पूर्वाधार निर्माण गरेर संसदीय अभ्यासको गरिमालाई उचोँ राख्ने काममा लागि परेको बताए ।

उनले अहिलेसम्म ४८ वटा विधेयक निर्माण गरेको भन्दै संसदमा जनताको सार्वभौम बिषयलाई प्राथमिकतामा राख्ने बताए । उनले सदनबाटै सरकारको जन्म हुने भएकाले आफूहरुले नागरिकको भावनालाई स्थान दिन प्रयत्नशिल रहेको बताए। ‘प्रदेशसभा भनेको विधि बनाउने र प्रतिपक्षी र सरकारको दुरी कम गर्ने हो, यो काम हामीले गरेका छौं’ उनले भने । प्रदेश न. ५ ले अन्य प्रदेशलाई उछिन्ने भन्दा पनि गुणस्तरीय काम गर्नमा ध्यान दिएको सभामुख घर्तीले बताए । उनले २ वर्षे कार्यकाल चुनौतीका बाबजुद काम गरेको भन्दै नागरिकहरुको पनि रचनात्मक सहयोग आवश्यक हुने बताए ।

उपसभामुख कृष्णि थारुले प्रदेशसभा नयाँ संरचना भएकाले यस मार्फत नागरिकको भावनालाई समावेश गर्ने काम गरिएको बताइन । उनले आफूहरुले समेत केही काम सिकेको बताउँदै संसदमा निर्माण हुने कानुनलाई जनताको पक्षमा हुने गरि छलफल गरिएको बताइन ।

कार्यक्रममा नेकपा संसदीय दलका सचिव एंव सांसद भोज प्रसाद श्रेष्ठले आफूहरु कानुन बनाउने थलोमा भएपनि निर्वाचन प्रणालीका कारण जनताले विकास निर्माणको आशा गरेको बताए । उनले कानुन निर्माण गर्ने थलोका रुपमा मात्रै आफुहरुलाई जनताले नलिने भएकाले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन, अधिवक्ता महेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी, संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरे, उपाध्यक्ष अमृता अनमोलले बाल्दै प्रदेशसभालाई नागरिकका अधिकारलाई बढि भन्दा बढि छलफल गर्ने थलो बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ६ : २४ बजे