७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बुटवल आएर देउवाले भने, ‘सरकार अधिनायकवादको बाटोमा छ’



बुटवल ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा अगाडि बढेको बताउनुभएको छ । प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको उहाले दाबी गर्नुभयो ।
कांग्रेस प्रदेश ५ को संसदीय दलका स्वर्गीय नेता बलदेव शर्मा पोखरेलको १३ औं दिनको तिथिमा शनिबार रुपन्देहीको तिलोत्तमा आउनुभएका देउवाले दुई तिहाइको बलमा जनताको अधिकार खोसेर तथा लोकतन्त्रको मुल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विधेयकहरु ल्याएको बताउनुभयो ।
‘अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन छ,’ उहाले भन्नुभयो, ‘कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडि बढनु पर्छ ।’
शोक सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले लोकतन्त्र र नागरीक सुरक्षाका लागि कांग्रेस सधैं अगाडि रहने बताउनुभयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कम्युनिस्ट सरकारले अहिलेसम्म अन्तरमनबाट लोकतान्त्रिक संविधानलाइ नै स्वीकार गर्न नसकेको बताउनुभयो ।
‘दुई तिहाइको बलमा आफना नेता कार्यकतालाई बलियो बनाउने काममा मात्रै सरकार लागेको छ,’ उहाले भन्नुभयो, ‘ तर देश र जनताको हितमा कुनैपनि काम गर्न सकेको छैन ।’ नेपाली कांग्रेसको प्रदेश नम्बर ५ को संसदीय दलका नेता बलदेव शर्मा पोख्रेलको ८२ वर्षको उमेरमा माघ ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ६ : १४ बजे