७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सरोकारवाला भन्छन्, ‘बैज्ञानिक बन व्यवस्थापनमा आर्थिक सुशासनबारे प्रश्न उठ्न थाल्यो’



मायादेवी अनलाइन, चारनम्बर ।
बनको बैज्ञानिक व्यवस्थापन प्रणाली अहिलेको आवश्यक्ता रहेपनि यसबारे नकरात्मक धारणा बढ्न थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । आज भन्दा १० बर्ष पहिला कपिलवस्तुबाट नै वैज्ञानिक बन व्यवस्थापन लागु गरिएको थियो । यो व्यवस्था लागु भएको १० बर्ष वितेपनि आम नागरिककमा सकरात्मक भन्दा नकरात्मक बुझाई पैदा हुन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।
सव डिभिजन बन कार्यालय कपिलवस्तुले वाणगंगाको नन्दनगरमा अवस्थित मनकामना सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा शनिबार आयोजना गरेको बैज्ञानिक वन व्यवस्थापन सम्बन्धि तालिममा यस्तो चिन्ता व्यक्त गरिएको हो ।
तालिमको सहजिकरण गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका उप सचिव विजयराज सुवेदीले बैज्ञानिक बन व्यवस्थापन विना बनको संरक्षण, प्रवर्धन र आर्थिक समृद्धि हासिल हुन नसक्ने भएपनि यसबारे कयौं आशंकाहरु देखिन थालेको बताउनुभयो । कतिपयले बैज्ञानिक बन व्यवस्थापन रुख काट्नकै लागि लागु गरिएको भन्ने कोणबाट टिप्पणी गर्ने गरेको आफुले सुन्ने गरेको जिकिर गर्नुभयो । बर्षौ देखिको खोज, अनुसन्धानबाट बैज्ञानिक वन व्यवस्थापन प्रणाली लागु गरिएको भन्दै हावाका भरमा टिप्पणी नगर्न उहाँले आग्रह गर्नुभयो ।
यसमा रुख काट्ने मात्र नभई विरुवा लगाउने र हुर्काउने काम झन महत्वपूर्ण हुने चर्चा गर्दै यता तर्फ हेर्न आग्रह गर्नुभयो । ‘बैज्ञानिक वन व्यवस्थापनमा रुख काटेको मात्र देख्न हुँदैन् उहाँले भन्नुभयो, “उमार्ने र हुर्काउने काम पनि झन महत्वपूर्ण छ । रुख पालेर मात्र यसको संरक्षण हुने होइन्, जबसम्म विरुवा उमार्ने र हुर्काउने गर्दैनौं बन बचाउन सकिदैन् । बैज्ञानिक बन व्यवस्थापनमा उमार्ने, हुर्काउने र काट्ने विषय महत्वपूर्ण छन् । रुख काट्न हुँदैन भन्नु भनेको भैसी पाल्छु, तर दुध ‘दुन्न’ भन्नु हो ।”
विगतमा परम्परागत शैलीबाट रुख कटान गर्दा विभिन्न समस्या देखिएको भन्दै बैज्ञानिक बन व्यवस्थापन लागु भएपछि त्यस्ता समस्याको अन्त्य भएको उहाँले जिकिर गर्नुभयो । यद्यपि कतिपय बनका समितिहरुले बैज्ञानिक बन व्यवस्थापनलाई गलत तरिकाले प्रयोग गर्दा पनि समाजमा नकरात्मक स्वरहरु गुञ्जिन थालेको तर्क गर्नुभयो । यता तर्फ बनका समिति सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
डिभिजन बन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी प्रसाद पौडेलले सामुदायिक तथा साझेदारी बनहरु राज्यको नीति अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । चालु आवको तीन महिनामा बनको साधारणसभा अनिवार्य गर्नुपर्ने भन्दै कतिपयले अझै गर्न नसकेको उल्लेख गर्नुभयो । डिभिजन बन कार्यालयले बनमा कुन कुन समयमा के के गर्ने भन्ने नीति बनाएको बताउँदै यही नीति अनुसार चल्न सबै बनलाई पौडेलले आग्रह गर्नुभयो ।
राज्यको नीति अनुसार चल्न नसक्दा उपभोक्ताबाट विभिन्न प्रश्न उठ्ने भन्दै यो कुराको ख्याल गर्न आग्रह गर्नुभयो । “सामुदायिक बनले रुख मात्र काट्छन्, त्यसबाट आएको स्रोत के के गर्छन्, गर्छन्, भन्ने आवाज सुनिन थालेको छ उहाँले भन्नुभयो, यसमा सचेत बनौं ।”
सामुदायिक बन महासंघका कपिलवस्तु अध्यक्ष हुमनाथ भट्टराईले रुख काट्न कै लागि बैज्ञानिक बन व्यवस्थापन लागु गरिएको भन्ने आशय आउन थालेको भन्दै यसप्रति सचेत बन्न आग्रह गर्नुभयो । रुख मात्र काट्ने, विरुवा उत्पादन र हुर्काउन नखोज्ने गर्दा यो प्रणाली फेल हुन सक्ने तर्फ उहाँले सचेत गराउनुभयो ।
बनमा लाखौं रकम आम्दानी भएपनि शुसासनमा बारम्बार प्रश्न उठ्ने गरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘हरेक बर्ष रुख धमाधम काट्छन्, पैसा कहाँ हाल्छन् हाल्छन् भन्ने सुनिन थालेको छ उहाँले भन्नुभयो, यसमा हामी सचेत बनौं ।’ नत्र भने बैज्ञानिक बन व्यवस्थापन मै प्रश्न उठ्छ ।
डिभिजन बन कार्यालय तौलिहवा मातहत बैज्ञानिक बन व्यवस्थापन लागु गरेका बनका समिति र उपभोक्ता बीच सञ्चालन गरिएको तालिममा दुई सय बढीको सहभागीता रहेको मनकामना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष अमित पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७६ शनिबार ००:००  ७ : १९ बजे