७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नेकपा बैठकमा अध्यक्ष ओली अनुपस्थित, समूहगत प्रतिवेदन पेस हुने क्रम जारी



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा समूहगत प्रतिवेदन पेस हुने क्रम जारी छ ।
शुक्रबार प्रदेश अध्यक्षको रिपोर्टिङ प्रतिवेदन लगत्तै सुरु भएको समूहगत प्रतिवेदन पेस गर्ने कार्यक्रम शनिबार पनि निरन्तर रहेको छ ।
शुक्रबार समूह ६ का नेता दीनानाथ शर्मा, समूह १३ का टोली नेता लेखनाथ न्यौपाने र समूह ९ का टोली नेता भगवती चौधरीले समूहगत प्रतिवेदन पेस गरेका थिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूहमा छलफलपछि समूह नेताले समूहगत प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
शनिबार समूह ३ का नेता खिमलाल भट्टराई र समूह १२ का नेता रेणु दाहालले आफ्नो समूहको सुझाव प्रस्तुत गरिसकेका छन् भने समूह ४ का नेता जगन्नाथ खतिवडाले आफ्नो समूहगत प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठकको पहिलो दिन उपस्थित भएका अध्यक्ष ओली त्यसपछि भने उपस्थित नभएका हुन् । समूह नेताहरुले प्रतिवेदन पेस गरिसकेपछि आइतबार अध्यक्ष प्रचण्डले उठेका सवालका विषयमा जवाफ दिने कार्यक्रम छ ।
बैठकमा मुख्य गरेर एमसीसी, लिपुलेक, पार्टी्भित्रको गुटबन्दी आदिका विषयमा छलफल भएको टोली नेताहरुले बताइरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७६ शनिबार ००:००  २ : १४ बजे