७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बिक्री हुन छाड्यो ‘बगनासी साँचो’



पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिका–९, बगनासमा उत्पादित ‘बगनासी साँचो’ बिक्री नहुँदा व्यवसायी चिन्तित बनेका छन् । विश्वकर्मा समुदायले उत्पादित ‘बगनासी साँचो’ प्रति उपभोक्ताको आकर्षण नहुँदा साँचो उत्पादन गर्ने व्यवसाय नै धरापमा परेको हो ।

उत्पादित साँचो बिक्री नहुँदा अब व्यवसायी थप उत्पादन गर्ने सोचमा छैनन् । लगानी गरेर उत्पादित साँचोले बजार पाउन नसक्दा व्यवसायी चिन्तित छन् । व्यवसायी टेकबहादुर विश्वकर्माले पहिलाको तुलनामा अहिले साँचोको कारोबार हुन नसकेकोमा चिन्तित छन् । “लगानी गरेर साँचो बनाउनुपर्छ तर बिक्री नहुँदा घाटा हुन्छ”, विश्वकर्माले भने, “कसैले साँचो बनाइदिनु प¥यो भनी मात्र उत्पादन हुन्छ, अरू समयमा साँचो उत्पादन हुन छाडेको छ ।”

भारतीय र चिनियाँले मेशिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा सस्तो मूल्यमा पाइन्छ । सस्तो, सानो र आकर्षक साँचो बजारमा पाउन थालेपछि यहाँ उत्पादित साँचोको प्रयोगप्रति आकर्षण घट्दो छ । पहिला साँचो उत्पादन गर्ने घरहरुमा समेत अहिले बजारको साँचो प्रयोग गर्न थालेका छन् ।

पहिला पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, प्यूठानलगायत जिल्लाबाट समेत नयाँ साँचोको आपूर्ति हुँदै आएको थियो तर पछिल्ला दश–बाह्र वर्ष उत्पादनका लागि माग हुन छाडेको छ । बिग्रिएका साँचो मर्मतका लागि अझै केही मानिसहरु आउँछन् तर नयाँ साँचोको माग पहिलाको तुलनामा शून्यजस्तो रहेकामा व्यवसायी चिन्तित छन् । बगनासी साँचो प्रयोगमा कमी आएकाले आफूले उत्पादन गर्ने आएको साँचो बिक्री हुन नसकेको गुनासो उत्पादक टेकबहादुर विश्वकर्माको छ । साँचो उत्पादन गर्ने व्यवसायीले अहिले अन्य काम गर्न थालेको विश्वकर्माको दाबी छ ।

पहिलाका तुलनामा अहिले वर्षमा एक–दुईवटा मात्र बिक्री हुने स्थानीय बासिन्दा शुक्रमाया विश्वकर्माको भनाइ छ । उनका अनुसार बिक्री हुन छाडेपछि उत्पादन पनि कमी हुँदै आएको र यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण घटेको छ ।

युवा व्यवसायी शिव विश्वकर्माका अनुसार बगनासी साँचोलाई आधुनिकीकरण गर्न सकेको अवस्थामा मात्र यो साँचो संरक्षण हुने बताए । उनले परम्परागत रुपमा साँचो उत्पादन गर्दा श्रमअनुसारको ज्यालासमेत उठाउन गाह्रो भएकाले अब बगनासी साँचोलाई मेशिनबाट उत्पादन गर्ने आवश्यक रहेको बताए। बगनासमा उत्पादित साँचोलाई पाँच–सात सय रुपैयाँ पर्ने हुँदा प्रयोगकर्ता सय–डेढ सय मूल्यका साँचो प्रयोग गर्दै आएका छन् ।

स्थानीयवासी साँचोको मूल्य महँगो हुँदा लोप हुने अवस्थामा पुगेको हो । मेशिनले निर्माण गरिएका साँचोको मूल्यमा कमी हुनु र युवा पुस्ताले साँचो बनाउन आकर्षित नभएपछि यो साँचो बिस्तारै हराउने शुक्रमाया विश्वकर्माको दाबी छ । साँचोको माथिल्लो भागको डण्डी रहेको र जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने डण्डी रहेको छ । डण्डीलाई प्वालभित्र राखेर साँचोको तल्लोमा चाबीले खोल्न र बन्द हुन्छ । रासस

प्रकाशित मिति : १८ माघ २०७६ शनिबार ००:००  २ : १२ बजे