७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

वाणगंगा नदीको ठेक्का विवादः ठेक्का नपाएको झोकमा ठेकेदार पुगे अदालत



मायादेवी अनलाइन, चारनम्बर ।
समयमा नदीजन्य पदार्थको ठेक्का खोल्न नसक्दा विकास निर्माणका काम प्रभावित बनिरहेको बेला यस बर्ष पनि वाणगंगा नदीको ठेक्का समयमा नखुल्ने निश्चित भएको छ । नगरपालिकाले माघ १५ गते बुधबार दोस्रो पटकमा लागि नदीजन्य पदार्थको ठेक्का खुलाएको छ । पहिलो पटक खुलाइएको ठेक्का पहिलो पक्ष एनवि कन्स्ट्रक्सन र दोस्रो पक्ष ओम सत्य साईले पाएपनि उनीहरुले ठेक्का लिन अस्विकार गरेका थिए ।

यी दुई फर्मले ठेक्का नलिने बताएपछि नगरपालिकाले राजश्वमा कमी आउने र जनताको भावना विपरित जान नहुने भन्दै तेस्रो पक्षलाई ठेक्का नदिने बरु पहिला खुलाइएको ठेक्का रद्ध गर्ने मंगलबार निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नगरले बुधबार मात्र नयाँ ठेक्का आह्वान गर्दै १५ दिने सुचना निकालेको छ ।
तर, नगरपालिकाको निर्णय प्रति असन्तृष्टि जनाउँदै ठेक्काको तेस्रो पक्ष रवि निर्माण सेवाले उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा रिट दायर गरेका थिए । उक्त रिटबारे शुक्रबार भएको बहस पछि उच्च अदालतले तत्काल खोलिएको ठेक्का रद्ध गर्न अन्तरिम आदेश दिएको छ । साथै अदालतले माघ २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफल गर्नुपूर्व नगरपालिकालाई तेस्रो पक्षलाई ठेक्का नदिई ठेक्का रद्ध गर्नुको कारण के हो भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।
रवि निर्माण सेवाका प्रोप्राइटर रवी गौतमले दायर गरेको रिटमाथि शुक्रबार वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, कृष्ण प्रसाद पोख्रेल र बाबुराम पन्थीले बहस गरेको बताइएको छ ।
नदीको ठेक्का विवाद उच्च अदालतसम्म पुगेपछि नदीजन्य पदार्थको निकासी स्वतः ढिलोगरी खुल्ने भएको हो । ठेकेदारले पहिलो पटक निकालिएको ठेक्कामा मिलेमतो गरी ठेक्का हालेको र उक्त ठेक्का रद्ध गर्नुपर्ने माग चर्को गरी उठेको थियो । ठेक्काको पहिलो र दोस्रो पक्षले ठेक्का लिन नखोज्नुलाई नगरबासीले मिलेमतोको रुपमा हेरेका थिए ।
यही विषयलाई लिएर कतिपयले ठेकेदारसंग जनप्रतिनिधि मिलेको आरोप लगाएका थिए । कम राजश्व हुँदाहुँदै पनि तेस्रो पक्षलाई ठेक्का पार्न खोजेको भन्ने चर्चा बाहिर आएको थियो । विभिन्न आशंकाका बीच नगरपालिकाले ठेक्का रद्ध गरी नयाँ खोल्ने निर्णय गरेको थियो ।
गत बर्ष पछि ठेक्का खोल्ने दिने ठेक्का फर्म च्यातिएपछि वाणगंगा नदीको ठेक्का चैत्रमा मात्र लागेको थियो । यो बर्ष पनि त्यसैगरी ढिलो हुने निश्चित छ ।

प्रकाशित मिति : १७ माघ २०७६ शुक्रबार ००:००  ९ : ०२ बजे