१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

नेविसंघको आमरण अनशन स्थगित



काठमाडौं ।
नेपाल विद्यार्थी संघमा विधानअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका नेविसंघ निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले विनाशर्त अनशन स्थगित गरेका छन्।
नेविसंघ सुदृढीकरणको आवश्यकता भए पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने कारण देखाई उनले अनशन स्थगित गरेका हुन्।
‘देशभरका नेविसंघ कार्यकर्ताहरूको अपार समर्थन र सद्भावका बावजुद उहाँहरूकै सल्लाहमा आसन्न स्ववियु निर्वाचनमा नेविसंघ जिताउने उद्देश्यसहित तत्कालका लागि आमरण अनशन स्थगित गरेका छौं,’ त्रिपाठीले भने, ‘विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ भन्ने हाम्रो अभियान र माग हो। अर्को कुरा विधान मिच्न कसैले पाउँदैन। विधानअनुसार संगठन चल्नुपर्छ हामी हाम्रो संघर्ष जारी राख्छौँ।’

नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको व्यक्ति साधारण सदस्य हुन नपाउने उल्लेख छ। तर, हालै कांग्रेस केन्द्रीय समितिको बैठकले करिब ५० वर्षका राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएको छ। नेविसंघका पूर्व-महामन्त्री कुन्दनराज काफ्ले पक्षले विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालय सानेपामा ४० दिन भन्दा धेरै रिले अनशनसमेत बसेको थियो।
‘राष्ट्रियताको मुद्दामा एक हुनुपर्छ लोकतन्त्रको रक्षा गर्नुपर्छ भनेर अहिले अनशन स्थगित भएको छ,’ नेविसंघ नेता मनिष सिम्खडाले भने, ‘स्ववियुको निर्वाचनमा होमिनुपर्छ भन्ने आम विद्यार्थीको भावनाअनुसार अगाडि बढेका हौँ।’

प्रकाशित मिति : १७ माघ २०७६ शुक्रबार ००:००  ४ : १८ बजे