एजेन्सी ।
स्पेनिस कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै क्वटरफाइनल प्रवेश गरेको छ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० ले हरायो।
जितसँगै अर्जेन्टिनी फरवार्ड मेस्सीले बार्सिलोनामा ५ सय खेल जितेका छन्। बार्सिलोनाका नयाँ प्रशिक्षक सिटिएनको आगमन भएपछिको यो सबैभन्दा ठूलो जित पनि हो। पछिल्लो पटक ला लिगामा भ्यालेन्सियासँग हारेपछि बार्सिलोनाले पुनरागमन गरेको हो।
बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले २ गोल गर्दा एन्टोनी ग्रिजम्यान, क्लिमेन्ट लेनग्लेट र आर्थर मेलोले समान १ गोल गरे।
खेलको चौथो मिनेटमै ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि लेनग्लेटले २७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो।
दोस्रो हाफमा मेस्सीले टिमलाई फराकिलो जिततर्फ डोर्याए। उनले खेलको ५९ र ८९ मिनेटमा गोल गरे। त्यस्तै, आर्थरले ७७ औं मिनेटमा गोल गरे।
प्रतिक्रिया