काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनसनरत विद्यार्थीहरुसँग ऐक्यबद्धता जनाउनुभएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताउनुभएको हो ।
नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरीत काम गरिरहेको बताउनुभयो । उहाँले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागबण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताउनुभएको हो ।
उहाँले नौ वटा महामन्त्री बनाउनु भागबण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताउनुभयो । नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताउनुभयो ।
नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरीत मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिन देखि आमरण अनसनमा बसेका छन् ।
प्रतिक्रिया