मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको एक वडा कार्यालयले प्लाष्टिकका झोलाभरी कापि, किताव बोकेर सामुदायिक विद्यालय आउने अवस्थाको अन्त्य गरिदिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ बुड्ढीले उक्त समस्याको अन्त्य गरिदिएको हो ।
वडा कार्यालयले सरस्वती पूजाको अवसर पारेर विहीबार वडा भित्रका ८० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक विकास तर्फको बजेटबाट वडा भित्रका अनाथ, असहाय ८० जना बालबालिकालाई एक झोला, आधा दर्जन कापी, आधा दर्जन कलम र ज्यामिती बक्स वितरण गरेको वडाध्यक्ष पवन कुमार थारुले जानकारी दिनुभयो ।
वडाले सहयोग गरेका यी बालबालिका आर्थिक अभावले गर्दा विद्यालयसम्म आउन निकै समस्या झेलेका थिए । परिवारको आर्थिक स्थिती दयनिय भएका यी बालबालिकाले स्कूल आउदा प्लाष्टिकका झोला बोक्थे भने लेख्ने कापी, कलम नहुँदा समस्या थियो ।
भविष्यका कर्णधारका रुपमा लिइने बालबालिकाको शिक्षामा सहयोग पुग्ने हेतुले वडा कार्यालयले शैक्षिक सामग्री स्वरुप झोला, कापी, कलम र ज्यामिती बक्स वितरण गरेको वडाध्यक्ष थारुले मायादेवीलाई बताउनुभयो । अध्ययनमा थप टेवा दिने र विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गर्नका लागि यस्तो कार्यक्रम तय गरिएको उहाँले जनाउनुभयो ।
वडा भित्रका सबै अनाथ, असहाय बालबालिकाले यो सहयोग पाएको बताउँदै वडाध्यक्ष थारुले यसको लागि पूर्व तयारी स्वरुप वडा भरी डाटा संकलन गरेको उहाँले जानकारी दिनुभयो । डाटा संकलन गर्दा वडा भित्रका ८० जना बालबालिका अनाथ, असहाय भएको पाइए पछि सबैलाई यस प्रकाको सहयोग गरेको उहाँले बताउनुभयो ।
सरस्वती पूजाको अवसर पारेर बुड्ढीस्थित भृकृटी माविमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सामग्री पाएपछि बालबालिका प्रफुल्ल देखिन्थे । वडा भित्रका एक मावि, एक निमावि र तीन प्राविमा अध्ययन गर्ने अनाथ र असहाय बालबालिका लिएर विद्यालयका शिक्षक, शिक्षिका कार्यक्रममा आएका थिए । यी शैक्षिक सामग्री पाउने अधिकांश बालबालिकाका आमाबाबु छैनन् ।
कार्यक्रममा शैक्षिक सामग्रीसंगै बालविकास केन्द्रमा अध्ययन गर्ने १ सय जना बालबालिकालाई खाजाको ‘टिफिन’ पनि वितरण गरिएको महिला वडा सदस्य खिमकला पाण्डेले बताउनुभयो । आर्थिक अभावका कारण बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाले प्लाष्टिकमा खाजा लिएर आउने गरेको देखेपछि त्यसलाई विस्थापित गर्नका लागि खाजा टिफिन वितरण गरिएको वडा सदस्य पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी ५ विद्यालयका ६ बालविकास केन्द्रलाई वडा कार्यालयले ३२ इन्चको एलइडी टिभी सहयोग गरेको छ । आधुनिक प्रविधि भित्रिएपनि बालविकासमा पढ्ने बालबालिकालाई कालोपाटीमा पढाउनुपर्ने स्थितीको अन्त्य गरी प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन एलईडी टिभी दिएको वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।
लक्षित वर्गमा छुट्टाएका बजेट तालिम, गोष्ठी, सेमिनारमा सकेको आलोचना भैरहेका बेला वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीलाई यस प्रकारको सहयोग गरेको देखेपछि सरोकारवालाले खुलेरै प्रशंसा गरेका छन् ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले वडाले गरेको यो कार्य अति नै सराहनिय रहेको भन्दै विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने गरी लाग्न शिक्षक, शिक्षिकालाई निर्देशन दिनुभयो । शिक्षाको सुधार विना विकास सम्भव नभएको भन्दै विगतको जस्तो परिपाटीले सामुदायिक विद्यालय नसुध्रने बताउनुभयो । आफुहरु सामुदायिक विद्यालयको सुधारका लागि जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै अभिभावक र विद्यार्थीको मन जित्ने गरी अध्यापन गराउन शिक्षक, शिक्षिकालाई आग्रह गर्नुभयो । जीवन भुसालको सञ्चालन रहेको कार्यक्रममा भृकुटि मावि बुड्ढीका व्यवस्थापन समिति अध्यक्ष रुद्रलाल बञ्जाडे लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया