७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्रहरीलाई सूचना दिनुस्, अपराधीले टाउको उठाउन पाउँदैनः इन्सपेक्टर जोशी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा बढेको लागु पदार्थ दुव्र्यसन र अपराधका घटनाले सबैलाई चिन्तित बनाएको छ । बाणगंगाका बिभिन्न स्थानमा भएका श्रृङ्खलावद्ध लागु औषध, चोरी डकैँती र अपराधका घटनाले समुदायलाई निकै चिन्तित बनाएको सरोकारवालाले बताएका छन् ।

अपराध र दुर्घटना न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय पिपराले विहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले पछिल्लो समय देखिएका अपराधका घटनाले बाणगंगा नगरपालिका नै दुषित बनाएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । उहाँले लागु औषध कारोबार र प्रयोग नियन्त्रण हुने सट्टामा बढि रहनुले खतराको संकेत गरेको बताउनु भयो । समाजका ठुलाठालुबाट नै संरक्षण हुँदा अपराधी खुलेयाम हिँड्ने गरेको भन्दै सजगता अपनाउन उहाँको सबैमा आग्रह छ ।

वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले चोरी, अपराध, लुटपाट र दुर्घटना बढ्नुको कारणमा अभिभावक दोषी रहेको बताउनु भयो । भर्खर बुङ्चीमा भएको सामुहिक चोरी, नगरका बिभिन्न वडामा ब्याप्त लागु औषध कारोबारी र दुव्र्यसनीका घटनाले सिंगो समुदायलाई चिन्तित बनाएको भन्दै उहाँले पनि चिन्ता ब्यक्त गर्नुभयो ।

उहाँले अभिभावकको संरक्षणमा अपराध मौलाएकाले हरेक अभिभावकमाथि पनि निगरानी बढाउन प्रहरीलाई सुझाउनु भयो । उहाँले भन्नुभयो– “नाम चाहिन्छ भने पनि दिऔँला । मसंग छन् । श्रीमान् श्रीमती नै यसको कारोबारमा खुलेर लागेका छन् । पहिला उनीहरुलाई पनि छानविन गर्नुपर्यो । हामी प्रहरीलाई सघाउँछौँ ।”

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले नगरका यस्ता घटनाले प्रहरी समेत चिन्तित रहेको बताउनु भयो । पछिल्लो समयमा भएका घटनाले आफ्नो गम्भिर ध्यानाकर्षण गराएको भन्दै उहाँले जनताले साथ दिए अपराधीलाई आफुले नछोड्ने बताउनु भयो । धेरै अपराध र त्यसमा संलग्नलाई आफूले नियन्त्रणमा लिइसकेको कसैलाई नछाड्ने प्रतिवद्धता जनाउनु भयो ।

छलफलपछि मायादेवी अनलाइनसंग जोशीले भन्नुभयो, “सूचना मात्रै दिए पनि हामी अपराधीको टाउको ठाडो हुन दिदैनौं । समुदाय र अभिभावकले सुचना लुकाउँदा अपराधी उम्कन्छन् । त्यसैले प्रहरीलाई जति सक्दो सघाउनुहोस् ।” आफुहरुले अपराधीलाई समातेर ल्याउँदा पनि कारबाही गर्नुको सट्टा अभिभावक स्वयमले ढाकछोप गर्दा समस्या भएको उहाँको भनाई छ ।

अपराधसंगै दुर्घटना पनि बढेकाले यसको नियन्त्रणको लागि पनि सबै लाग्नु पर्ने उहाको भनाई छ । चार नम्बर लगायतका महत्वपूर्ण स्थानमा सिसिटिभी क्यामेरा नहुँदा बिभिन्न घटनाका प्रमाण संकलन गर्न नसकिएको भन्दै उहाँले यस्ता स्थानमा अनिवार्य रुपमा सिसिटिभी क्यामेरा जगान गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

नागरिक समाजका अध्यक्ष दोलख पछाईले लागु औषध कारोबार हुने ठाउँ पहिचान गर्न, पक्राऊ परेका दुव्र्यसनीकर्तालाई कडा सजायको ब्यवस्था गर्न माग गर्नुभयो । रातको समयमा आपराधिक घटना घट्ने भएकाले यस समयमा विशेष निगरानी अपनाउन उहाँको आग्रह छ ।

वडा नम्बर ४ की वडा सदस्य इनिदरा पन्त, ज्येष्ठ नागरिकका अगुवा चन्द्रकान्त आचार्य, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितिका संयोजक तथा रेडियो मायादेवी रेडियोका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, पार्वती आचार्यले लगायतले बोल्दै सबै मिलेर यस समस्याको समाधान गर्नु पर्ने बताउनु भयो ।

झाँडी, पूल, विपन्न परिवारका घर टहरा, खोलाखोल्सी इत्यादी स्थानमा लागु औषध कारोबार हुने हुँदा प्रहरीले मात्र नभएर अब नागरिकले पनि गस्ती गर्नु पर्ने सरोकारवालाको भनाई छ । अपराधिक घटना बढिरहेको र जनताबाट धेरै यस्ता कुराहरु आइरहेकाले अन्तरक्रिया कार्यक्रम गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६ बिहिबार ००:००  ७ : २६ बजे