राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको भवन बिहीबार शिलान्यास गरिएको छ । काम हुने बेला जिल्ला अदालतमा भवन नबनाउन माग गर्दै मुद्धा परेपछि तत्कालिन समयमा काम रोकिएको थियो । जिल्ला अदालतले काम नगर्न आदेश दिएपछि नगरपालिका पुनरावेदन अदातलमा पुगेको थियो । पुनरावेदन अदालतले नगरको पक्षमा फैसला गरेपछि पुनः त्यसको विरुद्धमा सर्वोच्च अदातलमा मुद्धा दायर गरिएको थियो । शिवराज नगरपालिका–५ रहटकोल गाउँमा रहेको सार्वजनिक जग्गामा बन्न लागेको भवन निर्माणमा केही व्यक्तिले बिरोध गर्दै अदालतमा मुद्धा दायर गरेका थिए ।
सर्वोच्चले नगरपालिकाको पक्षमा फैसला गरेको केही हप्तापछि विहीबार भवन शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले आमनागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह होस भन्ने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको बताउनुभयो ।
केही व्यक्तिले अवरोध गरेपनि अदालतको फैसला बमोजिम विकासको काम अघि वढेको भन्दै भवन निर्माण पश्चात स्थानीयहरुलाई सेवा प्रवाहमा सहजता आउने नगर प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयो । भवनलाई आर्कषक र मजबुत बनाउने योजना स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुगमन गर्ने पनि अधिकारीले बताउनुभयो ।
अहिले भाडामा रहेको कार्यालयबाट सेवा प्रदान गर्न समस्या भइरहेको र कर्मचारीहरुको बसाईमा समेत समस्या रहेको उहाले बताउनुभयो । “हामी नगरपालिकाका विभिन्न वडा कार्यालयको समेत भवन निर्माण गरिरहेका छौँ, नगरको भवन बनुन्जेल सवै वडाको भवन निर्माण हुनेछ” नगर प्रमुख अधिकारीले भन्नुभयो ।
शिवराज नगरकार्यपालिकाको निर्णय अनुसार स्थान छनोट गरी भवन निर्माणको काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, “विभिन्न समस्याले निश्चित समय भन्दा पछि काम सञ्चालन भए पनि अब भने काम रोकिने छैन्” ।
११ करोडको लागतमा निमार्ण हुन लागेको भवन २ वर्षमा सम्पन्न हुने बताईएको छ । भवन निमार्णको लागि गत असारमा कैलाश एण्ड कम्पनीसँग संम्झौता भए पनि अदालतमा मुद्धा परेपछि काम हुन सकेको थिएन् ।
१६ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया