मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्यालले हात्तिपाइलेको औषधि सबैमा अनिवार्य भएको बताउनुभएको छ । विगतमा औषधि नखाएकै कारण यो रोग निराकरण हुन नसकेको भन्दै रोगबाट बच्च औषधि अनिवार्य खानुपर्ने बताउनुभयो ।
वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा विहीबार शिक्षक, प्रध्यापक तथा सरोकारवालाहरुका लागि राखिएको नगर स्तरीय अभिमूखिकरण कार्यक्रममा बोल्दै उपमेयर अर्यालले हात्तिपाइले रोग विरुद्धको औषधिका बारेमा समाजमा गलत भ्रम रहेकोले यसलाई सबै मिलेर चिर्नुपर्नेमा जोड दिनुभयो । ‘विगतमा औषधि नखाएकै कारण कपिलवस्तुमा यो अभियान सफल हुन सकेन्, अहिले १२ औं पटक औषधि खाने कार्यक्रम हुँदै छ उहाँले भन्नुभयो, “यो बर्ष शतप्रतिशत औषधि खुवाउने लक्ष्यका साथ नगरपालिका लागेको छ, यसमा सबैको साथ चाहिन्छ ।”
नेपालमा हात्तिपाइलेका रोगी सबैभन्दा बढी कपिलवस्तुमा रहेका छन् । हात्तिपाइले संक्रमितको संख्या १.५ भन्दा कम भयो भने अभियान सफल भएको मानिन्छ । तर, कपिलवस्तुमा झण्डै १३ प्रतिशत रोगीको तथ्याङ्क छ । छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, नवलपरासी, दाङ लगायतमा अभियान पूर्ण रुपमा सफल भएछ नगर उपप्रमुख अर्यालले भन्नुभयो, “कपिलवस्तुमा बर्षेनी रोगी बढेका बढै छन्, जुन निकै गम्भिर विषय हो ।”
उहाँले शिक्षक, शिक्षिकालाई आ–आफ्ना विद्यालयका विद्यार्थीलाई यो रोगबारे अनिवार्य शिक्षा दिन आग्रह गर्नुभयो । शिक्षकले भनेका कुरा विद्यार्थीले मान्ने भएकोले विद्यालय विद्यालयमा पुगेर औषधि वितरण गर्ने लक्ष्य नगरले लिएको सुनाउनुभयो ।
आफुले पटक पटक यो रोगको औषधि खाएको र अहिलेसम्म केही नभएको भन्दै उहाँले औषधिप्रति समाजमा छरिएको भ्रमलाई चिर्न उहाँले आग्रह गर्नुभयो । “हरेक बर्ष मैले औषधि खादै आएको छु, खै ? केही भएको छैन्, उपमेयर अर्यालले भन्नुभयो, “बरु औषधि नखानेको जीन्दगी बर्बाद हुन्छ, यो रोग लागि हाल्यो भने निको हुँदैन्, त्यसो हुँदा सबैले औषधि खाऔं ।”
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसालले हात्तिपाइले रोगको अवस्थाले सिंगो कपिलवस्तुप्रति नकरात्मक सन्देश गएकाले यसको निराकरणका लागि सबैलाई आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो । समाजका अगुवाहरुले नै औषधि नखाने गरेको प्रसंग निकाल्दै भुसालले हात्तिपाइले रोगलाई सामान्य नठान्न चेतावनी दिनुभयो । यो रोग लागि हाले सन्चो नहुने भएकोले रोग लाग्नै नदिन औषधि अनिवार्य खानुपर्ने बताउनुभयो । औषधि नगरका लागि नभई आफ्ना लागि भएकोले सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका हरेक विद्यार्थीलाई औषधि खुवाउने कार्यक्रम रहेको भन्दै उहाँले यो कार्यमा साथ दिन शिक्षक, शिक्षिकालाई उहाँले आग्रह गर्नुभयो ।
यही माघ २५ गते जिल्लाभर यो रोगमा औषधि खुवाईदै छ । यो रोग निमूर्ल पार्नका लागि नगर भित्र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले बताउनुभयो । यो बर्षपनि स्वास्थ्यकर्मीले स्वयम औषधि दिने भएकोले ढुक्क भएर खान उहाँले आग्रह गर्नुभयो ।
नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापक, भोकल शिक्षकलाई यो रोगबारे नगरपालिकाले बुधबार र विहीबार अभिमूखिकरण राखेको हो । विहीबारको अभिमूखिकरणमा डा. गंगराज यादवले सहजीकरण गर्नुभएको थियो । नगर स्वास्थ्य शाखाकर्मी भक्तिराम पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा (नेकपा) वाणगंगाका अध्यक्ष शंकर पाण्डे, नगरका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया