मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको जगदीशपुर तालमा विश्व सिमसार दिवस तथा चरा महोत्सव मनाउने तयारी भैरहेको छ । आउँदो माघ १९ गते फेबु्रअरी २ का दिन २० औं विश्व सिमसार दिवस तथा सातौं चरा महोत्सव मनाउन लागिएको हो ।
जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मंचको आयोजना डिभिजन बन कार्यालय कपिलवस्तु तथा कपिलवस्तु नगरपालिका वडा नं.९ को सहकार्यमा सिमसार दिवस मनाउने तयारी सम्बन्धी बुधबार सम्पन्न वैठकले विविध निर्णय गरेको छ ।
दिवसका अवसरमा म्याराथुन दौड, मा.वि.स्तरीय निबन्ध प्रतियोगिता, होमस्टेको लाठि नाँच, मयुर नाँच, स्थानीय कला र भेषभुसा झल्कने साँस्कृतिक कार्यक्रम संचालन गरिने मंचका अध्यक्ष ललित गुरुङ्गले बताउनुभयो ।
विशेषगरी जगदीशपुर ताल चराहरुको वासस्थान र विभिन्न प्रजातिका हजारौं चराहरु पाइने भएकाले यसको महत्व दर्शाउन डकुमेन्ट्री समेत प्रदर्शन गरिने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो ।
वैठकमा मंचका अध्यक्ष ललित गुरुङ्ग, डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेल, वडा अध्यक्ष शिव वाग्ले, पत्रकार हरि अधिकारी, स्थानीय समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।
१६ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया