दिपक अनुरागी, कपिलवस्तु (पथ्थरकोट) ।
पहाडको खोच, समथल तराईको ‘सिराना’मा छ पथ्थरकोट । अर्घाखाँचीको सिमानासंग जोडिएको पथ्थरकोट कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पर्छ । पूर्वपश्चिम राजमार्गको गोरुसिंगे चोकबाट ११ किलोमिटरको दुरीमा पर्ने यो बजार कुनै एक ‘जमाना’को पुख्यौली चर्चित बजार हो ।
‘बुढापाका’ले बताए अनुसार १९९५ सालदेखि पथ्थरकोटमा बजार बसेको हो । नुन, तेल, लत्ताकपडा देखि सुनसम्म पाइने यो बजारका ग्राहक प्यूठान, अर्घाखाँची, गुल्मी र स्वय्म कपिलवस्तुबासी थिए । यी जिल्लाका नागरिक यहाँ बजारका लागि आउने गरेको बुढापाकाहरु बताउँछन । यी जिल्लाका अलवा बाग्लुङ, रोल्पा र दाङसम्मका नागरिक पथ्थरकोट बजार झर्ने गरेको ०२४ सालदेखि पथ्थरकोटमा व्यापार गर्दै आउनुभएका रामप्रसाद उपाध्याय सुनाउनुहुन्छ ।
त्यस बेला पश्चिम नेपालको चर्चित पथ्थरकोट बजार भारतीय व्यापारीको प्रमुख गन्तव्य थियो । भारतीय सिमावर्ती कृष्णनगर बजार सडक पहुँचको हिसाबले दुर्गम थियो । त्यसो हुँदा ग्राहकको ओइरो पथ्थरकोट बजारमा हु्न्थ्यो । ‘उपाध्याय भन्नुहुन्छ, “०२४ सालमा पथ्थरकोट झरेको हुँ, त्यति बेला मैले कपडा पसल राखेको थिए, कपडा किन्नका लागि ग्राहक कति आउँथे भने दुई÷तीन दिनसम्म लाइनमा बसेर कपडा किन्न पाउँथे ।” त्यतिबेलाको समय सम्झदै उपाध्याय भन्नुहुन्छ, “दिनरात व्यापार गर्दा खाने र सुत्ने ठेगान नै हुन्थेन, ती बेलाको रकर्ड म संग अझै छ ।”
उति बेला तराईमा भन्दा पहाडमा जनसंख्या बढी थियो । तराईमा ‘औलो’ लाग्ने ‘भय’ले तराई मानिस झर्न मान्थेनन । यही ‘भय’को कारणले पनि पथ्थरकोट बजार चम्किन पुगेको हो । पहाडसंग जोडिएकाले पथ्थरकोटलाई उतिबेला ‘औलो’को जोखिमयुक्त कमै मानिन्थ्यो । तरपनि, औलोको डरले ग्राहकहरु दिनभर सामान किन्ने, रात परेपछि पहाडमा गएर सुत्ने गरेको उपाध्याय सम्झनुहुन्छ । ग्राहकको चापले गर्दा एकै दिनमा सामान किन्न पाइनेस्थिती हुन्थेन । दुई÷तीन दिन लगाएर सामान किन्नुपर्ने बाध्यता थियो । उतिबेला ‘बटौली बजार’ (हालको बुटवल) पनि पथ्थरकोट जस्तो व्यवस्थित थिएन । पाल्पाको अनकन्टार पहाडले गर्दा नागरिक बटौली नगई पथ्थरकोट आउने गर्थे । पथ्थरकोटका अलवा बटौली र कृष्णनगर बाहेक पश्चिम नेपालमा कुनै बजार थिएनन् । तरपनि उतिबेला सबै हिसाबले सुगम पथ्थरकोट थियो । त्यहीभएर मानिसको ओइरो लाग्थ्यो ।
दशकौं व्यापार गरे, ०५४ पछि लालपूर्जा पाए
विं.स.१९९५ सालदेखि पथ्थरकोट बजार सञ्चालनमा आएपनि विं.स.२०५४ पछाडि मात्र बजारबासीले जग्गाधनी पूर्जा पाएका थिए । तीन पुस्तासम्म पथ्थरकोट बिताएका रामदेव गुप्ता सम्झनुहुन्छ, ‘लालपूर्जा पाउने आशै–आशमा पुर्खाको निधन भयो ।’ ०५४ सालमा मात्र लालपूर्जा पाएका हौं ।
“व्यापार–व्यवसायकै शिलाशिलामा हाम्रा पूर्खाहरुले तीन पुस्ता यसै भूमिमा विताए,–‘गुप्ताले सुनाउनुभयो ।”
०४४ सालमा बन सुद्धिकरण आयोगले पथ्थरकोट बजार भित्रका जग्गा नापजाँच गरेको थियो । तर, ०४६ सालमा बहुदल आए पश्चात सबै हराए । बहुदलको लडाईका कारण लालपूर्जा पाउनबाट बञ्जित पथ्थरकोटबासीले ०५४ सालमा भने लालपूर्जा पाए ।
लालपूर्जा दिने व्यक्ति भने मिर्जा दिलशाद हुनुहुन्थ्यो । कपिलवस्तुबाट चुनाव जितेर भूमि सुधार मन्त्री बन्नुभएका उहाँकै सरकारको पालामा सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान आयोग गठन भएको थियो । उक्त आयोगको अध्यक्षमा (मिर्जाका आफ्नै सम्धि) फारुकी सिद्धिकी हुनुहुन्थ्यो । उहाँ दुवै जना कृष्णनगर बस्नुहुन्थ्यो ।
आफ्नै जिल्लाका नेता मन्त्री भएपछि लालपूर्जा पाउने आशा लिएर बसेका थिए पथ्थरकोटबासी । नभन्दै मिर्जाकै हातबाट लालपूर्जा पाए । पथ्थरकोटबासीले लालपूर्जा पाएको त्यो दिन स्मरण गर्दै भन्छन्,’–“हाम्रा भगवान बनेर आएका थिए मिर्जा ।”
“पुस्तौ पुस्तादेखि बस्दै आएपनि लालपूर्जा पाएका थिएनौं तर मिर्जाको पालामा लालपूर्जा मिलेको हो बजारबासी पार्वती बोहराले त्यो दिन सम्झदै भन्नुभयो’,–“त्यो बेला जीवन मै सबैभन्दा खुसी भएको थिए ।”
त्यति बेला मिर्जाले पथ्थरकोटबाटै लालपूर्जा वितरण शुभारम्भ गरेको पथ्थरकोटबासी दाबी गर्छन । ‘झोलाभरी लालपूर्जा बोकेर मिर्जा र फारुकी हेलिकप्टरमा आएका थिए । त्यो दिन सम्झदै जगदीश दुवेले भन्नुभयो ।”
पहाडीया, मधेसी र मुस्लिम मिलेर बसेको बजार
पथ्थरकोटमा मिश्रित समुदायको बसोबास छ । मुख्य पेशा व्यापार व्यवसायलाई बनाएर बसोबास गर्दै आएका पहाडीया, मधेसी र मुस्लिम समुदायमा नङ र मासुको जत्तिकै सम्बन्ध यहाँ पाइन्छ । ०६२÷०६३ सालमा ठूला–ठूला मधेस आन्दोलन भएपनि पथ्थरकोटलाई जातीय हिसाबले कुनै प्रभाव पारेन । एक समय मधेसी र पहाडीया समुदायबीचको एकता खलबलाउने विभिन्न प्रयास भए । तर, पथ्थरकोटमा त्यसको छाँयाले भेट्न सकेन् । यहाँ पुस्तौं विताएका मधेसी समुदाय र पुस्तौं विताएका पहाडीया समुदायबीच आपसी समझदारी, भातृत्व र एकता रहँदै आएको छ । एकले अर्काको दुःखमा मज्जाले साथ दिदैं आएका छन् ।
यहाँ मुस्लिम समुदाय पनि बसोबास गर्दै आएका छन् । पथ्थरकोट बजारको उत्तरी क्षेत्रमा मस्जिद छ भने त्यहाँको ५० मिटरको दुरीमा हिन्दुको प्रशिद्ध मन्दिर छ । आ–आफ्ना चाडवाड हिन्दु र मुस्लिमले संग–संगै मनाउने गरेका छन् ।
व्यापार नहुँदा अधिकांशले पथ्थरकोट छाडे
पथ्थरकोटबासी विगतको कुरा गर्दा जसरी उत्साहित हुन्छन्, वर्तमानको अवस्था सोध्दा उत्तिकै चिन्तित ! गाउँगाउँमा विकास पुगेपछि बजार सुनसान बनेको बजारबासीको भनाई छ । लोकतन्त्र, गणतन्त्र पश्चात गाउँ–गाउँ मोटरबाटो पुग्यो, विकास पुग्यो ६५ बर्षीय विलासी गुप्ताले भन्नुभयो, “आजभोलि व्यापार छदै छैन भनेपनि हुन्छ ।” गोरुसिंगे, चारनम्बर, तौलिहवा, चन्द्रौटाजस्ता बजार दिन प्रतिदिन चम्कदै गएपनि पथ्थरकोट बजार सुनसान बन्दै गएको छ । व्यापार व्यवसाय सुक्दै जादा अधिकांशले बजार छाडिसकेका छन्, कतिपय व्यापार छाडेर घरमै बस्न थालेका छन् । पुराना शैलीका घरहरु देखिने पथ्थरकोटमा बसाईसरेर आउनेक्रम पनि बढेको छैन् । पहाडी भेगका अधिकांश नागरिक सुख खोज्दै तराई झरिरहेका बेला पथ्थरकोट झर्ने कत्तिपनि हुँदैनन् । पहाडसंग जोडिएकोले यहाँ हिउँदमा खानेपानीको चरम अभाव हुने गरेको छ । ‘चापाकल’को पानी यहाँ आउँदैन् ।
वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ ले आफु निर्वाचित भएपछि पथ्थरकोटको विकासमा लागिपरेको बताउँनुहुन्छ । ‘म जनप्रतिनिधि नुहँदाको पथ्थरकोट र अहिलेको पथ्थरकोट निकै फरक छ, विकास निर्माणको कुरा गर्दै वडाध्यक्ष बस्नेतले भन्नुभयो, यो ऐतिहासिक बजारको विकास द्रुत गतिमा गर्ने लक्ष्य लिएका छौं ।’
प्रतिक्रिया