८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विजयनगरमा कर्मचारी अभावः कृषि प्राविधिक वडा सचिव, शिक्षा शाखा प्रमुख शिक्षक !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा कर्मचारीको अभाव हुँदा कामकाजमा समस्या भएको छ । गाउँपालिकामा ३४ दरबन्दी चाहिए पनि एक जना कार्यालय प्रमुखको भरमा गाउँपालिका चलेको छ । गाउँपालिकाका अनुसार निजामती सेवाका प्रमुख प्रशासकीय अधिकृत बाहेक एकजना पनि कर्मचारी छैनन् । कर्मचारीको चरम अभाव भएपछि गाउँपालिकाले अस्थायी रुपमा भर्ना गरेका कर्मचारीबाट दैनिक कामकाज सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकामा यतिसम्म कर्मचारीको अभावमा छ, कृषि प्राविधिक, भेटेनरी डाक्टर, स्वास्थ्यका अहेवले वडा सचिवको काम गरिरहेका छन् । महिला तथा बालबालिका शाखाको जिम्मेवारी स्वाथ्यकर्मीले सम्हालेका छन ।
शिक्षा, युवा तथा खेलकुद शाखामा पनि कर्मचारी छैनन् । शाखामा कर्मचारी नहुँदा समस्या भएपछि एक जना स्थायी शिक्षकलाई यो शाखाको जिम्मेवारी दिइएको छ । साउन यता गाउँपालिकामा लेखा प्रमुख नै छैनन् ।
गाउँपालिकाले भर्ना गरेका अस्थायी कर्मचारी, कृषि, स्वास्थ्य र पशुका प्राविधिक तर्फका कर्मचारीबाट कामकाज सञ्चालन गर्नुपर्दा निकै समस्या भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले मायादेवीलाई बताउनुभयो । जनताको कामलाई रोक्नु हुँदैन भनेर फरक जिम्मेवारी सम्हालेका कर्मचारीबाट कामकाज सञ्चालन गरेको थापाले जानकारी दिनुभयो । ‘प्राविधिक क्षेत्रका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ, यहाँभन्दा ठूलो दुःखको कुरा के हुन सक्छ उहाँले भन्नुभयो, ‘केन्द्रसंग कर्मचारी मागेको मागै छु, तर कोही पठाएका छैनन् ।’ नागरिकको सेवाप्रवाह छिटोछरिटो हुन नसकेपनि काम नरोकिएको अध्यक्ष थापाले भन्नुभयो ।
गाउँपालिकामा गत साउन महिना देखि यसरी कर्मचारीको चरम अभाव भएको हो । ‘कर्मचारी समायोजनमा धेरैजसोले घर पायक रोजेर गए । कतिपयले सुगम क्षेत्र रोजे, धेरैजसो दुर्गम भनेर यहाँ आउन मान्दैनन्, अध्यक्ष थापाले भन्नुभयो, “ यो मात्र होइन् निजामती तर्फका कर्मचारी देशभर अपुग छन्, त्यसैले मारमा पनि परियो ।”
तत्कालिन समयका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीको लापरबाहीका कारण गाउँपालिकामा निजामतीका कुनै कर्मचारी नभएको गाउँपालिकाले जनाएको छ । अधिकृत चौधरीलाई २४ जना निजामतीका कर्मचारी माग्न भनिएको भएपनि समयमै मन्त्रालयमा कर्मचारी मागको पत्र नपठाउदा अहिले समस्या आएको हो । चौधरीले दरबन्दी मागको पत्र मन्त्रालयलाई पठाउन भुलेको खुलेको छ ।
भौगोलिक रुपमा विकट मानिने विजयनगर गाउँपालिकामा अधिकांश कर्मचारी जान मान्दैनन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई÷चार जना कर्मचारी तत्काल पठाउने आश्वासन दिएपनि अझै पठाएको छैन् । केही दिन मै केही कर्मचारी आउनेमा आफु आशाबादी रहेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । लोक सेवाले नयाँ कर्मचारी मागेको भन्दै यसले दरबन्दी पुग्नेमा उहाँको विश्वास छ ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ३ : १६ बजे