एजेन्सी ।
भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका ग्लेइसेन ब्रेमेरले दुवै गोल गरेपनि हार टार्न सकेन ।
खेलको १२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले एन्टी रेविको पासमा गोल घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्लेइसेन ब्रेमेरले सिमोन भर्डीको पासमा गोल गरेपछि पहिलो हाफ गोलको बराबरीमा टुंगिएको थियो ।
७१औं मिनेटमा ग्लेइसेन ब्रेमेरले ओला एइनाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनो खेलमा अघि बढेको थियो । ९०औं मिनेटमा हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएला थिए ।
अतिरिक्त समयको १६औं मिनेट (१०६) मा हकान कल्हानोग्लुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई खेलमा ३–२ ले अघि बढाए । त्यसको दुई मिनेटपछि ज्लाटनले गोल गर्दै मिलानलाई ४–२ को जित दिलाए । खेलदौरान दुर्घटनामा ज्यान गुमाएका बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई पनि श्रद्दान्जली अर्पण फरिएको थियो । कोबी मिलानका समर्थक रहेका थिए ।
अब सेमिफाइनलमा मिलानले इटालियन च्याम्पियन युभेन्टसको सामना गर्नेछ । युभेन्टसले यसअघि रोमालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर मिलान वा फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ । नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया