काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बुधबारदेखि बस्दैछ । तत्कालीन एमाले र माओवादीबिच एकता भएर बनेको नेकपाको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
बैठककाको कार्यसूचि केन्द्रीय सचिवालय बैठकले तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूचि तय गरेको हो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुनेछ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटिले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटिमा रहने नेकपाका नेताले बताएका छन् । बैठक बिहान ११ बजेपछि राष्ट्रिय सभागृहमा हुनेछ । तर माघ २० गतेसम्म चेल्ने बैठकमा केन्द्रीय सदस्यहरुले सीधै आफ्नो धारणा भने राख्न नपाउने भएका छन् ।
मंगलबारको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुले बैठकको समूह छलफलमा भाग लिन पाउने तर प्रत्यक्षरुपमा सबै सदस्यलाई सम्वोधन गर्ने गरी आफ्नो धारणा राख्न नपाउने निर्णय गरेसँगै नेकपाको पहिलो केन्द्रीय बैठक औपचारिकतामा सिमित रहने देखिएको हो ।
प्रतिक्रिया