११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

सकियो ‘दोस्रो बुद्धभूमि माघी खिचडी महोत्सव’



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ को बसन्तपुरमा सञ्चालन गरिएको ‘दोस्रो बुद्धभूमि माघी खिचडी महोत्सव’ सकिएको छ । थारु जातीको महत्वपूर्ण चाड माघीको अवसरमा नगर स्तरीय माघी खिचडी महोत्सव यहाँ आयोजना गरिएको थियो । शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको माघी महोत्सवमा हजारौं दर्शकले अवलोकन गरेका छन ।

जनचेतना मुलक नाटक देखाउँदै थारु समुदायका युवती । मायादेवी अनलाइन


थारु जातीका कला, संस्कृती, भेषभुषा र विभिन्न खानाका परिकार राखिएको महोत्सवमा थारु जातीका राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्ना सांस्कृतिक प्रस्तुती देखाएको नगरपालिकाकी कार्यपालिका सदस्य तथा माघी महोत्सवकी संयोजक कमला चौधरीले जानकारी दिनुभयो ।

झुमरा नाच देखाउँदै थारु कलाकार । मायादेवी अनलाइन


महोत्सवको शनिबार राती नगर प्रमुख केशव कुमार श्रेष्ठले समापन गर्नुभएको हो । उक्त अवसरमा महोत्सव सञ्चालनमा सहयोग पुर्याउने दर्जनौं व्यक्ति र संघसंस्थालाई सम्मान गरिएको थियो । माघी महोत्सव समापन गर्दै नगर प्रमुख श्रेष्ठले थारु समुदायको पुराना संस्कृती संरक्षणमा माघी महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
महोत्सव अवधिभर प्रस्तुत गरिएका विभिन्न सांस्कृतिक नृत्य तथा गीतले नयाँपुस्तालाई सिकाईको महत्वपूर्ण थलो बनेको चर्चा गर्नुभयो । नगरपालिकाले माघी महोत्सव सञ्चालनमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताउँदै उहाँले आगामी दिनमा पनि यसै गरी सहयोग गर्दै जाने उद्घोष गर्नुभयो ।
वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ले वडा भित्र आयोजना गरिएको नगर स्तरीय माघी महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । महोत्सवका अवसरमा थारु संग्राहलय स्थापना गरिएको उल्लेख गर्दै थारु समुदायको कला, संस्कृति संरक्षणमा वडाले पनि विशेष भूमिका खेल्ने जिकिर गर्नुभयो ।
माघी महोत्सवमा झुमरा गीत र नृत्यको प्रतियोगीता आयोजना गरिएको थियो । नगरभित्रका ५ टिमको सहभागी रहेको झुमरा गीत र नृत्यमा प्रथम हुनेलाई नगद रु १० हजार प्रदान गरिएको थियो । यसैगरी दृतीयलाई ७ हजार, तृतीयलाई ५ हजार दिइएको थियो ।
यस्तै थारु समुदाय भित्रबाट रेकर्ड डान्स प्रतियोगीता आयोजना गरिएको थियो । जसमा प्रथम पुरस्कार ७ हजार, दृतीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार राखिएको थियो ।

थारु समुदायको भेषभुषामा सजिएका युवती । मायादेवी अनलाइन

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ९ : ५७ बजे