एजेन्सी ।
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिग वान क्लब ट्रान्मेरी रोभर्सलाई ६–० ले पराजित गरेको हो ।
पहिलो हाफमा पाँच गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेको हो । युनाइटेडका लागि १० औँ मिनेटमा ह्यारी मागुइरी र १३ औँ मिनेटमा डिओगो डालोटले गोल गरे । उनीहरु दुवैले क्लबका लागि पहिलो गोल गरेका हुन् ।
यस्तै १६ औँ मिनेटमा जेसी लिङ्गार्ड र ४१ औँ मिनेटमा फिल जोन्सले गोल गरे । ४५ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले ५–० को अग्रता लियो । ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा म्यासन ग्रिनवुडले गोल गरेपछि युनाइटेडले ६–० को जित निश्चित गरेको हो ।तर प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेको लिभरपुलले भने रिप्ले खेल्नु पर्ने भएको छ ।
लिभरपुल बराबरीमा रोकियो
चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल लिग वान क्लब श्रेवस्बरी टाउनसँग २–२ को बराबरीमा रोकिएको हो ।
भ्रमण टोली लिभरपुलका लागि जोन्सले १५ औँ मिनेटमा गोल गरे । ४६ औँ मिनेटमा श्रेवस्बरी टाउनका लभले आत्मघाती गोल गरे । पछि परेको टाउनका लागि कमिङ्गसले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा पहिलो गोल गरे । उनले ७५ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् ।
प्रतिक्रिया